arin enterprises

न्हूदँ समारोहमा महानगर प्रमुखलाई वहिष्कार गर्न माग

SamacharDesk – बिराज | २०७९ कार्तिक ५, शनिबार

त्वाःछेँ बचाउ संघर्ष समितिले वसन्तपुरमा आयोजना गरिने यस वर्षको न्हूदँ समारोहमा काठमाडौं महानगर प्रमुखलाई वहिष्कार गर्न न्हूदँ राष्ट्रिय समारोह समितिलाई आग्रह गरेको छ ।

संघर्ष समितिका प्रतिनिधिहरुले समारोह समितिका अध्यक्ष डा. नरेशमान बज्राचार्यलाई भेटेर थायमदुस्थित त्वाःछेँ बचाउ अभियानमा साथ दिँदै महानगर प्रमुखलाई वहिष्कार गर्न आग्रह गरेको हो ।

भेटघाटमा संघर्ष समितिका उपाध्यक्ष राजेश श्रेष्ठले नेपाल सम्वतको आन्दोलनको सुरुवात भएको त्वाःछेँ भवन भत्काउन डोजर पठाउने महानगर प्रमुखलाई नेपाल सम्वतको न्हूदँ समारोहमा वहिष्कार गर्न समारोह समितिका अध्यक्ष बज्राचार्यलाई आग्रह गरे ।

‘काठमाडौं महानगरले अदालतको मुद्दासमेतलाई बेवास्ता गर्दै नेपाल सम्वतको आन्दोलनको सुरुवात गरेको थायमदुको त्वाःछेँ भवन भत्काइदिएको छ तर नेपाल सम्वत न्हूदँको समारोहमा त्यहि भवन भत्काउन आदेश दिने महानगर प्रमुखलाई सम्मानजनक स्थान दिन लाग्दा हाम्रो मन खिन्न भएको छ’, उपाध्यक्ष श्रेष्ठले भने, ‘यस्तो अवस्थामा नेपाल सम्वतको आन्दोलनको भावनालाई आत्मसात गर्दै यस वर्ष महानगर प्रमुखलाई हामीले वहिष्कार किन नगर्ने ?’

न्हूदँको समारोह अगावै महानगर प्रमुखबाट आफुबाट गलती भएको र त्वाःछेँ भवन पुनर्स्थापना गरिदिने प्रतिवद्धता आएमा आफुहरुलाई कुनै आपत्ती नभएको संघर्ष समितिका प्रतिनिधिहरुले बताएका थिए ।

त्वाःछेँको पुनर्स्थापना पनि नहुने हो र समारोहमा महानगर प्रमुखलाई सम्मानजनक स्थान पनि दिइन्छ भने आफुहरुले सोही कार्यक्रममा महानगर प्रमुखको विरोधमा प्रदर्शन गर्न बाध्य हुने समितिका प्रतिनिधिहरुले भनेका थिए ।

यहि मागसहित संघर्ष समितिले समारोह समितिलाई ज्ञापन पत्र पनि बुझाएको छ । संघर्ष समितिका अध्यक्ष प्रा.रमेश श्रेष्ठले समारोह समितिका अध्यक्ष डा. बज्राचार्यलाई ज्ञापन पत्र हस्तान्तरण गरे ।

थायमदुस्थित यस त्वाःछेँ भवनबाटै नेपालभाषा मंकाः खलःको सुरुवात भएको थियो भने सोही भवनबाट मंकाः खलःले नेपाल सम्वतलगायत विभिन्न आन्दोलन पनि चलाएको थियो ।

अदालतमा मुद्दा विचाराधीन रहँदैकाे अवस्थामा गत असोज १४ गते बडादशैंको पंचमीको दिनमा भवनको अग्रभाग डोजर ल्याएर भत्काइदिएको थियो ।

Categorized in समाज