arin enterprises

उपत्यकाव्यापी स्वबासी संघ गठन हुने

SamacharDesk – बिराज | २०७९ कार्तिक ११, शुक्रबार

काठमाडौं उपत्यकामा नदि वरपरलगायत विभिन्न स्थानमा बसोबास गरिरहेका स्वबासीहरुको संघ गठन हुने भएको छ ।

विना कुनै लालपूर्जा वा भोगचलनको निस्सा, सयौं वर्षदेखि उपत्यकाका विभिन्न स्थानमा बसोबास गरिरहेका स्वबासीहरुको संघ गठन गर्न लागिएको हो ।

संघ गठन गर्नका लागि स्थानीय सामाजिक अभियन्ता मनोज नेवाः खड्गीले संयोजन गरिरहेका छन् ।

सामाजिक अभियन्ता साथै प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ८ का उम्मेदवार खड्गीले आफ्नो योजना सुनाउँदै स्वबासीहरूकाे समस्या समाधान गर्न अब संगठित रूपमै अघि बढ्न खाेजेकाे बताए ।

सामाजिक अभियन्ता खड्गीले यहाँ पुस्तौंदेखि बसोबास गर्दै आएका कैयन परिवार लालपूर्जालगायतका कागजात नहुँदा राज्यबाट पाउनुपर्ने विभिन्न सुविधाबाट बन्चित हुँदै आएको बताए ।

‘यहाँ भूमिहिन दलित,सुकुम्वासीको साथमा अव्यवस्थित बसोबास गर्दै आएकासम्मको पनि व्यवस्थापन राज्यले गरिदिने कुरा छ । स्वबासीको हकमा केही नीति छैन । आफ्नो हक अधिकार प्राप्तिको लागि स्वबासीहरु संगठित हुनुको विकल्प छैन’ खड्गीले भने ।

कुनै पनि सरकारी वा सार्वजनिक जग्गा, जमीन कब्जा गरेर बस्दै आएकालाई राज्यले अव्यवस्थित बसोबासी भनेर परिभाषित गरेको छ ।

यसरी भूमिहिन दलित अथवा भूमिहिन सुकुम्वासी वा अव्यवस्थित बसोबासको अवस्थामा रहेको २०७६ माघ १८ गतेसम्ममा १० वर्ष पूरा भएको प्रमाणित हुन्छ भने उसको व्यवस्थापन राज्यले नै गरिदिनुपर्ने नीति रहेको छ ।

२०६० सालमै आफुले १५३ परिवार स्वबासीहरुको लागि घरको लालपूर्जा निकालिदिन आफु वारिस बसेर प्रकृया थालेको तर त्यो प्रकृयाले पनि आजसम्म पूर्णता लिन नसकेको खड्गीले बताउनुभयो ।

‘६० सालमा मैले दमाईटोलदेखि कंग, चिभाःख्यः, इन्द्रसभास्थान र ढोकाटोलका १५३ परिवार स्वबासीहरुको घरको लालपुर्जा निकाल्न आफैं वारीस बसेर प्रकृया थालेको थिएँ, त्यो निवेदन पनि आजसम्म फाइलभित्रै बस्यो, आजसम्म लालपूर्जा पाएको छैन’ खड्गीको भनाई हो ।

स्वबासीको हक दिलाउन आफुले विगतमा पनि धेरै प्रयास गरेको तर यसमा राज्यले कुनै ठोस कदम नचालेको हुनाले अब स्वबासी संघ गठन गरेर अघि बढ्न लागेको खड्गीको भनाई हो ।

घरको लालपूर्जा नहुँदा राज्यबाट दिइने ससाना सुविधाबाट समेत बञ्चित रहनुपर्दाको पीडा राज्यले बुझ्नुपर्ने तर अहिलेसम्म यसतर्फ राज्यले वास्तै नगरेको खड्गीको गुनासो हो ।

स्वबासी संघ गठन गर्नको लागि आफुले संयोजनकारी भूमिका मात्र खेल्ने तर संघको नेतृत्व वास्तविक स्वबासीहरुले नै गर्ने उनको भनाई हो ।

Categorized in समाज