arin enterprises

विहानै लकडाउन उल्लंघन गर्ने ६ सय जना नियन्त्रणमा

SamacharDesk – विगेन तुलाधर | २०७६ चैत्र १६, आइतबार

कोरोना भाइरस कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन गरेको छैठौं दिन पुग्दा प्रहरीले भित्रि वस्तीमा कडाई गर्न थालेको छ । बाहिर मूल सडकमा लकडाउन प्रभावकारी देखिएपनि भित्री वस्तीमा यसको पालना नहुँदा प्रहरीले भित्रि वस्तीमा कडाइ गर्न थालेको हो ।

भित्री वस्तीमा अनावश्यक भीडभाड भइरहने र मान्छेहरु अनावश्यक समूहमा बसेर गफ गरिरहने गरेको गुनासो बढ्न थालेपछि आजबाट काठमाडौं जनसेवा प्रहरी प्रभागले कडाइ गर्न थालिएको हो । 

आइतबार विहानमात्रै लकडाउनलाई उल्लंघन गर्दै अनावश्यक बाहिर निस्किएका करीब ६ सय जनालाई नियन्त्रणमा लिएका जनसेवा प्रहरी प्रभागका डिएसपि सुनिल जंग शाहले बताउनुभयो ।

उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएका तिनीहरुलाई सचेतना कक्षा दिइ छोडिएको पनि डिएसपि शाहले बताउनुभयो । 

आज बिहान ७ः३० बजेसम्ममा ५सय १२ पुरुष र १ सय ५ जना महिलाहरुलाई सामाजिक दुरी कायम राख्दै सडकमै ३ घन्टा राखी सचेतना कक्षा लिएको थियो । 

सचेतना कक्षामा भाइरसको बारेमा जानकारी, यसको रोकथाम र नियन्त्रणका लागि अपनाउनुपर्ने उपाय आदिको बारेमा बताइएको थियो ।

लकडाउन उल्लंघन गर्नेलाई ६ महिना कैद वा ६ सय रुपैयाँ जरिवाना अथवा दुवै सजायँ हुन सक्ने व्यवस्था छ । 

अहिलेको अवस्थामा थुनामा राख्दा पनि संक्रमणको जोखिम रहेकोले प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिइएकै स्थानमा सचेतना कक्षा दिँदै फर्काउने गरेको छ ।

यसैगरी लकडाउन उल्लंघन गर्ने १ सय ३ वटा सवारी साधन पनि होल्ड गरिएको प्रहरीले जनाएको छ । 

फोटो श्रोत : विगेन तुलाधर

Categorized in समाज