मूर्त अमूर्त सम्पदा, संस्कृतिकाे संरक्षणमा लाग्ने शाक्यकाे प्रतिवध्दता
SamacharDesk – बिराज | २०७९ मङ्सिर १, बिहिबार

आसन्न आम निर्वाचनमा नेकपा एमालेबाट प्रदेश सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ८ (क) बाट उम्मेदवार राजेश शाक्यले आफ्नो दोश्रो कार्यकाल स्थानीय संस्कृति, सम्पदामा केन्द्रीत हुने बताएका छन् ।
समाचारडेस्कसँगको कुराकानीमा पूर्व सांसद शाक्यले अघिल्लो निर्वाचनमा आफुले जाहेर गरेका १४ मध्ये १३ प्रतिवद्धता पूरा गरेको र अब दोश्रो कार्यकालमा बाँकि रहेको एउटा प्रतिवद्धतासँगै नयाँ योजनाहरु अघि बढाउने बताए ।
नयाँ योजनाहरुमा आफु विशेष गरी वागमती प्रदेशको स्थानीय मूर्त, अमूर्त सम्पदा र संस्कृतिको संरक्षण र दीगो व्यवस्थापनमा केन्द्रीत हुने शाक्यको भनाई छ ।
‘अघिल्लो कार्यकालमा मेरै नेतत्त्वमा काष्ठमण्डप पुनर्निर्माण सम्पन्न भयो । ईन्द्रजात्राको दीगो व्यवस्थापनको लागि पनि हामीले अक्षय कोष खडा गर्न सुरुवातदेखि अरु धेरै कामहरु हामीले गरेका छौं । अब दोश्रो कार्यकालमा अझ व्यापक र व्यवस्थित ढङ्गबाट स्थानीय संस्कृति, सम्पदामा संरक्षणमा जुट्छौं’ शाक्यले भने ।
संविधानले तीनवटा स्थानीय मातृभाषालाई प्रदेशको कामकाजी भाषाको रुपमा प्रयोग गर्न पाउने अधिकार दिएको बताउँदै वागमती प्रदेशमा नेपालभाषा र तामाङ्ग भाषाको रुपमा प्रयोगमा ल्याउने आफुले पहल गर्ने शाक्यले बताए ।
स्थानीय मातृभाषा पनि समाजको अमूर्त सम्पदाको रुपमा रहेको हुँदा यसको संरक्षण सरकारकै दायित्व भएको र आफ्नो दायित्वबाट पछि नहट्ने शाक्यको भनाई थियो ।
‘भाषा रहेन भने समुदायको पहिचान नै रहन्न र हामीले बहुल जाती, भाषा, धर्म भनेर गर्व गर्ने ठाउँ पनि रहन्न । भाषाको संरक्षण र प्रवद्र्धन राज्यले गर्नुपर्छ भन्ने मान्यता पहिलेदेखि राख्दै आएको हो र प्रदेश सांसदको रुपमा यो दायित्व पूरा गर्नमा म लाग्नेछु’ शाक्यले विचार पोखे ।
नेपालको राष्ट्रिय लिपि र राष्ट्रिय संवत भएकै कारण आफु लामो समयदेखि रञ्जना लिपि र नेपाल सम्वतको प्रवद्र्धनमा जुटिरहेको र पछि पनि यस विषयलाई जोडदार रुपमा प्रदेश संसदमा उठाउने उनले भने ।
‘नेपाल संयुक्त राष्ट्र संघमा सदस्यता लिन रञ्जना लिपिबाट निवेदन दिएको थियो, देवनागरि लिपि त भारतबाट दर्ता भएको थियो । त्यसैले पनि रञ्जना लिपि नेपालको राष्ट्रिय लिपि हो । यसको प्रचार प्रसार र प्रवद्र्धनमा म सक्रिय रहनेछु’ शाक्यले सुनाए ।
विगतमा पनि रञ्जना लिपिको प्रचार प्रसारको लागि आफुले नै बजेट छुट्याइदिएको र सोही बजेटबाट क्यालिजात्रा लगायतका अभियान संचालन भएको उनले बताए । प्रदेश सरकारको लेटर प्याडमा नेपाल सम्वतको प्रयोग गर्न लगाउने पनि उनले बताए ।
Categorized in राजनीति