arin enterprises

स्थिर समय उल्लंघन गरेमा २५ हजारसम्म जरिवाना

SamacharDesk | २०७९ मङ्सिर २, शुक्रबार

गएराति १२ बजेदेखि मौन अवधि अर्थात स्थिर समय शुरु भएसँगै निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका राजनीतिक छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि निर्वाचनलक्षित काम बन्द भएका छन् ।

आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि बिहीबार मध्यराति १२ बजेदेखि स्थिर समय लागू भएको निर्वाचन आयोगले जनाएको छ ।

स्थिर समय लागू भएसँगै राजनीतिक गतिविधिमा शून्यता देखिएको छ । मतदातालाई निर्वाचनमा कसलाई मत हाल्ने भन्ने सोच विचार गर्नका लागि स्थिर समयको व्यवस्था गरिएको हो ।

यसअघिका निर्वाचनमा भने मतदानको अघिल्लो ४८ घण्टाअघिदेखिको समयलाई मौन अवधि भनिन्थ्यो । आयोगले यसपटक नयाँ शब्दावलीको प्रयोग गरेको हो ।

निर्वाचन आचारसंहिता, २०७९ अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म यो अवधि लागू रहन्छ ।

मतदान मङ्सिर ४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । स्थिर समयमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणका विषयमा आचारसंहितामा उल्लेख गरिएको छ ।

यस अवधिमा कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नपाइने कानुनी व्यवस्था छ ।

मौन अवधिको उल्लङ्घन गरे आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजार रुपैयाँसम्म जरिवाना हुने आयोगले जनाएको छ ।

यसैगरी, मतदान हुने दिनको ४८ घण्टा अघि मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने आचारसंहितामा उल्लेख छ ।

यो व्यवस्था भने सबैतिर लागू नभएको देखिन्छ । गत रातिदेखि मात्र स्थिर सयम लागू भएकाले आयोगले यो व्यवस्था पनि आजदेखि नै लागू भएको स्पष्ट पारेको छ ।

Categorized in राष्ट्रिय