उपाधि दाबेदार अर्जेन्टिना साउदीसँग २–१ ले पराजित
SamacharDesk | २०७९ मङ्सिर ६, मंगलबार

साउदी अरेबियाले विश्वकपमा उपाधि दाबेदार अर्जेन्टिनाविरुद्ध अप्रत्याशित जित निकालेको छ । समूह सी अन्तरगतको पहिलो खेलमा साउदी २–१ गोलले विजयी बनेको हो ।
खेलमा अग्रता भने अर्जेन्टिनाले लिएको थियो । पहिलो हाफमा लियोनेल मेस्सीको पेनाल्टीको मद्दतले अर्जेन्टिनाले अग्रता लिएको थियो ।
तर दोस्रो हाफको सुरुवातमा नै साउदीले बराबरी गोल फर्कायो । खेलको ४८ औँ मिनेटमा सालेह अलसेहरीले बराबरी गोल गरे ।
५३ औँ मिनेटमा सलेम अलदावसरीले गोल गर्दै साउदीलाई अग्रता दिलाए । योसँगै अर्जेन्टिनाको ३६ खेलको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ ।
यस्तै अर्जेन्टिना ३२ वर्षपछि विश्वकपको पहिलो खेलमा पराजित भएको हो । सन् १९९० मा इटालीमा भएको विश्वकपमा अर्जेन्टिना क्यामरुनसँग पहिलो खेलमा पराजित भएको थियो ।
पहिलो हाफमा अर्जेन्टिनाको गोल अफसाइड भएको भन्दै रद्द भएको थियो । यस जितसँगै समूह ‘सी’ को साउदीले पहिलो खेलमै ३ अंक जोडेको छ । साउदी समूहको शीर्ष स्थानमा रहेको छ । अर्जेन्टिना पुछारमा रहेको छ ।
Categorized in स्पाेर्ट्स