arin enterprises

स्थानीय जनताको आवश्यकता बुझ्दै शैलेन्द्र

SamacharDesk – बिराज | २०७९ मङ्सिर ११, आइतबार

‘पहिला पो गाडीमा वा बाइकमा हिँड्ने हो । अब त म बढि पैदल हिँड्नुपर्छ ।’

जनप्रतिनिधि भइसकेपछि यहाँको अवस्था र समस्यालाई राम्ररी हेर्नुपर्यो, बुझ्नुपर्यो नि’ काठमाडौं क्षेत्र नम्बर ८ (क) बाट नवनिर्वाचित वागमती प्रदेश सभासद शैलेन्द्रमान बज्राचार्यको भनाई हो ।

शनिबार हामी सँगसँगै ओमबहाल क्षेत्रमा हिँड्दै कुरा गर्दै गर्दा उनले भनेका शब्दहरु हुन् । यी व्यापार व्यवसाय र विभिन्न सामाजिक गतिविधिमा सक्रिय बज्राचार्य प्रदेश सभा सदस्यमा निर्वाचित भइसकेपछि हामीले उहाँलाई भेट्यौं ।

भेटघाटको क्रममा हाम्रो कुराकानी कुनै बन्द कोठाभित्र अथवा रेस्टुरेन्टतिर होइन, काठमाडौंको ओमबहाल क्षेत्रमा हिँड्दा हिँड्दै नै भयो ।

‘जनप्रतिनिधि भइसकेपछि मैले सबैको कुरा सुन्नुपर्छ, बुझ्नुपर्छ । म गाडीमै हिँड्छु भने जनतासँग कसरी कुराकानी गर्ने ? त्यसैले अचेल म आफ्नो क्षेत्रमा पनि प्राय पैदलै हिँड्ने गर्छु र स्थानीयसँग कुराकानी गर्ने गर्छु’ शैलेन्द्रले भन्दै गए ।

कुराकानीको क्रममा हामी ओमबहाल, चिकंमुगल, झ्वःछेँ, वसन्तपुर क्षेत्र घुम्यौं । सो क्रममा शैलेन्द्रले सम्पूर्ण मतदातालाई भेट्दै धन्यवाद दिँदै थिए भने ज्येष्ठ नागरिकसँग आशिर्वाद पनि लिँदै थिए ।

बाटोमा भेटेकालाई मात्र होइन, घरघरमा घन्टी दिँदै धन्यवाद दिँदै मार्गदर्शन र साथ, सहयोगको लागि आग्रह गर्दै उनी हिँडिरहेका थिए ।

‘सबैलाई यसरी भेटेरै धन्यवाद दिएर साध्य लाग्ला र ?’ हाम्रो प्रश्न थियो ।

‘भोट माग्न घरघर पुग्न सकिने, धन्यवाद दिन किन पुग्न नसकिने ? अरु नेताहरु जस्तै जितेपछि हराउने भए अरुमा र म मा के फरक रहन्छ ?’ शैलेन्द्रले भने, ‘म त जनताकै बीचमा बसेर, जनतालाई नै साथमा लिएरु काम गर्नलाई आएको हो ।’

स्थानीय वासिन्दा पनि शैलेन्द्रप्रति धेरै आशावादी देखिन्थे । यसरी घरमै पुगेर धन्यवाद दिन आउँदा खुसी हुँदै स्थानीय वासिन्दाले शैलेन्द्रलाई बधाई दिइरहेका थिए ।

‘ल, अरु जस्तै जितेर गएपछि पद र सत्ताको मात्र खेलमा नलाग्नु है, हाम्रो ठाउँ, समाजको विकासको लागि काम गर्नु’ कत्ति स्थानीय वासिन्दाको यस्तै भनाई थियो ।

ताम्राकारहरुले तामाको भाँडा, वर्तन बनाउँछन्, ज्योतिषहरु चिना बनाउँछन्, चित्रकारहरु चित्र कोर्छन् । यस्ता परम्परागत पेशाहरु पर्यटकको लागि आकर्षणको विषय हो

शैलेन्द्र अहिले विशेष गरी ‘प्रोजेक्ट ओमबहाः’मा केन्द्रीत हुँदै काम गरिरहेका छन् ।

परम्परागत पेशा र आदिवासी अभ्यासलाई नै प्रदर्शनीसमेको रुप लिएर ओमबहाललाई एउटा लाईभ म्यूजियममा परिणत गर्ने शैलेन्द्रको परिकल्पना हो ।

यस परिकल्पनामा उनले निर्वाचनको धेरै अगाडीबाट नै काम सुरु गरिसकेका छन् । अब चाँडै नै यसलाई कार्यान्वयनमा लानको लागि काम गर्ने उनको योजना छ ।

हाल भने उनी विभिन्न समूहहरुसँग छलफल र परामर्श लिनमा व्यस्त भएका छन् ।

विभिन्न जातीय समूहहरुसँग छलफल गर्दै परम्परागत पेशाको बारेमा, ईतिहासविद्, संस्कृतिविद्हरुसँग स्थान विशेषको ईतिहास, संस्कृतिको बारेमा जानकारी लिने काम पनि उनले अगाडी बढाएका छन् ।

‘ताम्राकारहरुले तामाको भाँडा, वर्तन बनाउँछन्, ज्योतिषहरु चिना बनाउँछन्, चित्रकारहरु चित्र कोर्छन् । यस्ता परम्परागत पेशाहरु पर्यटकको लागि आकर्षणको विषय हो । यसलाई उत्पादनमा लगेर अन्तर्राष्ट्रिय बजारमा पनि पुर्‍याउन सकिन्छ’ शैलेन्द्रले सुनाए ।

साथमा स्थानीय वौद्धिक व्यक्तित्वहरुसँग पनि चाँडै नै छलफलमा बस्ने उनको योजना छ ।

वौद्धिक व्यक्तित्वहरुसँग छफलमा बसेर विभिन्न क्षेत्रको लागि आवश्यक मार्गचित्र बनाउने, त्यसलाई कार्यान्वयनमा लग्नको लागि कार्यदिशा तय गर्ने आदि योजनामा शैलेन्द्र छन् ।

‘यो पाँच वर्ष मज्जाले काम गर्ने हो । पाँच वर्ष काम गर्नको लागि धेरै दिन हो । म पाँच वर्षभित्रमा साँच्चिकैमा परिवर्तन गरेर देखाउँछु’ शैलेन्द्रले गर्वसाथ भने । 

Categorized in राजनीति