arin enterprises

सुकुम्वासीहरुको महानगरपालिका अगाडी बिरोध प्रदर्शन

SamacharDesk | २०७९ मङ्सिर १३, मंगलबार

काठमाडौं थापाथलीस्थित वागमती नदी किनारका सुकुम्वासीहरुले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि बिरोध प्रदर्शन गरेका छन् ।

धेरै संख्यामा जम्मा भएका सुकुम्वासीहरुले आफूहरुलाई सुकुम्वासी बस्तीबाट महानगरपालिकाले बलपूर्वक हटाउन लागेकोमा बिरोध प्रदर्शन गरेका हुन् ।

महानगरपालिकाले सोमवार सुकुम्वासी बस्ती हटाउनका लागि डोजर लिएर गएपछि सो क्षेत्र तनावग्रस्त बनेको थियो । महानगरपालिकाको कदमप्रति सुकुम्वासीहरुले प्रतिरोध गर्दा केही महानगर प्रहरीहरु घाइतेसमेत भएका थिए ।

नाराबाजीसहित महानगरपालिका पुगेका सुकुम्वासीहरुले महानगरपालिकाका प्रमुख बालेन्द्र साह बिरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले सुकुम्वासी एक हौँ, बालेन साह होसियार, सूचना आतंक बन्द गर लगायतका नाराबाजी गरेका थिए ।

महानगरपालिकाले थापाथलीमा भएको झडपमा नगर प्रहरीमाथि सांघातिक आक्रमण गर्नेहरु विरुद्ध काठमाडौं प्रहरी परिसर टेकुमा उजुरी गरेको छ । हतियारसहित आक्रमण गरी नगर प्रहरीलाई घाइते बनाउनेहरु विरुद्ध महानगरले किटानी उजरी गरेको हो ।

सुकुम्वासीको आक्रमणबाट महानगर प्रहरी बल प्रमुख राजु पाण्डेसहित १८ जना नगर प्रहरी घाइते भएका थिए । महानगरले नगर प्रहरी शर्मिला बोगटीलाई कब्जामा लिएर निर्घात कुटपीट गरेको र उनीसहित तीन जना नगर प्रहरीलाई उपचारका लागि आईसीयुमा राख्नुपरेको जनाएको छ ।

अनधिकृत संरचना हटाउन कानुन बमोजिम काममा खटिएका नगर प्रहरीहरूमाथि सांघातिक आक्रमण गर्नेलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न महानगरले माग गरेको छ ।

Categorized in स्थानीय