arin enterprises

फ्रान्स र इंग्ल्याण्ड क्वाटरफाइनल प्रवेश

SamacharDesk | २०७९ मङ्सिर १९, सोमबार

राउण्ड अफ १६ अन्तर्गत हिजो राति भएको खेलमा फ्रान्स र इंग्ल्याण्ड बिश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

राती भएको खेलमा सेनेगललाई ३–० गोल अन्तरले हराउँदै इंग्ल्यान्ड क्वाटरफाइलनमा पुगेको छ । इंग्ल्यान्डलाई जित दिलाउन जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले एक एक गोल गरे ।

खेलको ३८ औं मिनेटमा हेन्डरसनले गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा केनले गोल गर्दै इंग्ल्यान्डलाई २–० को अग्रता दिलाए ।

खेलको ५७ औं मिनेटमा साकाले गोल गर्दै इंग्ल्यान्डलाई ३–० को जित दिलाए ।

हिजै राती भएको अर्को खेलमा साविक विजेता फ्रान्सले पोल्याण्डलाई ३–१ गोल अन्तरले हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो ।

फ्रान्सलाई जित दिलाउन केलियन एम्बाप्पेले दुई गोल गर्दा ओलिभर जेरुडले एक गोल गरे । पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए ।

खेलको ४४ औं मिनेटमा जेरुडले गोल गर्दै फ्रान्सलाई १–० गोलको अग्रता दिलाएका थिए । उनले केलियन एम्बाप्पेको पासमा सहज गोल गरे ।

पोल्याण्डविरुद्धको गोलसँगै जेरुडले फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । जेरुडले फ्रान्सका लागि ५२ औं गोल गरेका हुन । जेरुडले थिएरी हेनरीको नाममा रहेको ५१ गोलको कीर्तिमान पनि तोडेका छन् ।

खेलको ७४ औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २–० को अग्रता दिलाए । खेलको इन्जुरी समयमा एमबाप्पेले थुरामको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ३–० को अग्रता दिलाए ।

इन्जुरी समयमै पोल्याण्डका लेवान्डोस्कीले पेनाल्टीमा गोल गरेपनि फ्रान्स ३–१ ले विजयी भयो । फ्रान्सका डेयोटले पेनाल्टी क्षेत्रमा ह्यान्डबल गरेपछि पोल्याण्डले पेनाल्टीको अवसर पाएको थियो ।

अब फ्रान्स र इंग्ल्यान्ड दुवै टीमको भेट भने क्वाटरफाइनलमै हुने छ ।

बिश्वकप फुटबल अन्तर्गत आज पनि दुई खेल हुनेछन आज राती पौने ९ बजे ब्राजिल र दक्षिण कोरियाबीच भिडन्त हुँदा राती पौने १ बजे जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुने छ ।

Categorized in स्पाेर्ट्स