arin enterprises

ब्राजिल र क्रोएसिया क्वार्टर फाइनलमा प्रवेश

SamacharDesk | २०७९ मङ्सिर २०, मंगलबार

विश्वकप अन्तर्गत हिजो भएको नकआउटचरणका खेलहरु अहिले जारी छ ।

हिजो राती नेपाली समय अनुसार ८ः४५ मा भएको जापान र क्रोएसियाको खेलमा जापानलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले हराउँदै क्रोएसिया अन्तिम आठमा पुगेको छ ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त ३० मिनेटको समयमा पनि खेल १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टीमा गएको थियो ।

पेनाल्टीमा क्रोएसियन गोलकिपर डोमिनिक लिभाकोभिच चम्किएपछि क्रोएसिया क्वार्टर फाइनलमा पुग्यो । क्रोएसियाका निकोला भ्लासिच, मारियो पासालीच र मार्सेलो ब्रोजोभिचले पेनाल्टीमा गोल गरेका थिए ।

मार्को लिभाजा भने पेनाल्टीमा चुके । जापानका ताकुमा असानोले एक गोल गर्दा ताकुमी मिनामिनो, माया योशिदा र कोरु मितोमाले गोल गर्न सकेनन् । तीनै जनाको प्रहार क्रोएसियाका गोलकिपर डोमिनिकले रोकेका थिए ।

पेनाल्टीमा जानु अघि जापानले खेलमा सुरुआती अग्रता लिएको थियो । खेलको ४३ औं मिनेटमा डाईजेन मादाले गोल गर्दै जापानलाई १–० को अग्रता दिलाएका थिए ।

खेलको ५५ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

हिजै राती कतारमा भएको राउण्ड सिक्सिटन अन्तर्गतको खेलमा ब्राजिलले कोरियालाई ४–१ गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको हो ।

खेलको सातौं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै ब्राजिललाई १–० गोलको अग्रता दिलाएका थिए । खेलको १३ औं मिनेटमा नेयमारले पेनाल्टीबाट गोल गर्दै ब्राजिललाई २–० गोलको अग्रता दिलाए ।

दक्षिण कोरियाका वु योङ जोङले रिचार्लिसनलाई आफ्नो पेनाल्टी क्षेत्रमा लडाएपछि ब्राजिलले पेनाल्टीको अवसर पाएको थियो ।

खेलको २९ औं मिनेटमा थियागो सिल्भाको पासमा रिचार्लिसनले गोल गर्दै ब्राजिल ३–० को अग्रता लियो ।

यस्तै ३६औं मिनेटमा लुकास पाक्वेटाले भिनिसियसको पासमा गोल गर्दै ब्राजिललाई ४–० को अवस्थामा पुर्याए ।

खेलको ७६ औं मिनेटमा दक्षिण कोरियाका पाइक सुएङ–होले एक गोल फर्काए पनि ब्राजिल ४–१ ले विजयी भयो ।

हिजोका खेलहरुपछि ब्राजिल र क्रोएसिया विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेका छन् भने कोरिया र जापान भने राउण्ड अफ सिक्टिनबाटै बाहिरिएका छन् ।

अब क्रोएसिया र ब्राजिलको भिडन्त क्वार्टर फाइनलमा हुनेछ ।

Categorized in स्पाेर्ट्स