ललितपुर महानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविका अक्षयकोषलाई निरन्तरता दिने
SamacharDesk | २०७९ मङ्सिर २०, मंगलबार

ललितपुर महानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविका अक्षयकोषलाई निरन्तरता दिने भएको छ ।
सोमवार ललितपुर महानगरपालिकाले आयोजना गरेको स्वयंसेवक सम्मान तथा प्रोत्साहन कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले विगतमा महानगरपालिकाले शुरु गरेको महिला स्वयंसेविका अक्षयकोषलाई यस वर्षदेखि निरन्तरता दिने बताउनुभएको हो ।
उहाँले अक्षयकोषको निरन्तरता नभएको भन्दै अब भने बजेटको व्यवस्थापन गरेर निरन्तरता दिइने उहाँले बताउनु भयो । आगामी वर्ष अक्षयकोषको प्रगति प्रतिवेदन सार्वजनिक गर्ने पनि उहाँको भनाई छ ।
सो अवसरमा उहाँले आफू जितेर आउनुभन्दा पहिला यहाँ महिला स्वास्थ्य स्वयंसेविका अक्षयकोषको व्यवस्थापन थियो । के कति कारणले हो त्यसको निरन्तरता नभएको तर अब यो वर्षदेखि महिला स्वास्थ्य स्वयमसेविका अक्षयकोषलाई निरन्तरता दिने बताउनुभयो ।
त्यो बेला कति पैसाको व्यवस्थापन गरिएको छ, त्यो पैसा हामी अब उप्रान्त यो अक्षयकोषमा व्यवस्थापन गर्ने र अर्को वर्ष ललितपुरका महिलाहरुले त्यसको रिपोर्ट पाउने बताउनुभयो ।
ललितपुर महानगरपालिकाले १९ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस तथा विश्व स्वयंसेवक दिवस मनाएको छ । सो अवसरमा महानगरले स्वयंसेवकहरुलाई सम्मान तथा प्रोत्साहन समेत गरेको थियो ।
स्वयंसेवकहरुलाई सम्मान गर्दै प्रमुख महर्जनले कोभिड १९ महामारी र डेंगु संक्रमणको समयमा स्वयंसेविकाहरुले महत्वपूर्ण भुमिका खेलेको भन्दै उच्च प्रशंसा गर्नुभयो ।
निरन्तर रुपमा हुने खोप कार्यक्रम र भर्खरै सम्पन्न भएको निर्वाचनमा मतदाता शिक्षाको कार्यक्रममा पनि स्वयंसेविकाहरुको उल्लेख्य योगदान रहेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।
महानगरपालिका प्रमुख महर्जनले गत स्थानीय निर्वाचनमा आफूले जित्नुको मुख्य कारण नै स्वयंसेवकहरु भएको बताउनु भयो । उहाँले स्वयंसेवकहरुले गरेको प्रभावकारी कामहरुका कारण नै आफूलाई मत दिएर जिताएको उहाँको भनाई छ ।
स्वयंसेविकाहरुको कामका कारण नै स्थानिय तहहरु मध्ये ललितपुर महानगरपालिका उत्कृष्ट हुन पुगेको उहाँले बताउनु भयो । आगामी दिनमा पनि सेवा र त्यागको भावना राख्दै काग गर्न उहाँले आग्रह गर्नुभयो ।
Categorized in स्थानीय