‘सरी मम’को ट्रेलर सार्वजनिक
SamacharDesk | २०७९ मङ्सिर २७, मंगलबार

पारिवारिक कथामा निर्माण भएको फिल्म ‘सरी मम’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमसहित निर्माण टिमले फिल्मको ट्रेलर रिलिज गर्यो ।
एनएफआई कृयशनको ब्यानरमा निर्माण भएको फिल्मले लागुऔषध दुर्व्यसनी विरुद्धको आवाज बोल्छ । फिल्मको ट्रेलरमा पनि कुलतमा परेको एक किशोर र त्यसले उसको परिवार र जीवनमा ल्याउने उतारचढावको कथा जोडिएको छ ।
यो फिल्म युवा तथा किशोरावस्था उमेर लक्षित छ । कार्यक्रममा बोल्दै मुख्य कलाकार सरिता लामिछानेले बर्षौदेखि पर्दा पछाडि रहेर नेपाली फिल्मको लागि क्रियाशिल प्राविधिकहरूको टिमले तयार गरेको फिल्ममा मेहनत र सन्देश जोडिएको बताइन् ।
साथी संगतले एउटा किशोर कुलतमा फस्दा त्यसले सम्बन्धित परिवारमा र उसको जीवनमा निम्त्याउने परिस्थितिलाई फिल्मले बोकेको उनको भनाइ छ । निर्माता विनोद लामाले आँखा अगाडी परिरहने समाजको कथालाई टिपेर फिल्म सरी मम तयार गरेको बताए ।
कथा लेखक समेत रहेका लामाले सार्वजनिक प्रदर्शनीसँगै च्यारेटी प्रदर्शनीको माध्यमबाट समेत गरि लक्षित वर्गमा फिल्म पुर्याउने र त्यसको लागि सबैको सहयोग आवश्यक रहेको बताए ।
नेपाली हलमा पर्ने हलिउड फिल्म ुअवतारुको प्रभावपछि फिल्मको प्रदर्शन मंसिर २९ बाट सरेर अब माघ ५ लाई तोकिएको लामाले बताएका छन् ।
नविन बोगटीको निर्देशनमा बनेको फिल्ममा सरोज खनाल र सरिता लामिछाने, एलिस राई, प्रभात पल, प्रेविल कडेल, आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाइँ, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारी अभिनयमा छन् ।
यो फिल्ममा दिर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन छ । आयुष वुढाथोकी र सरोज पौडेलले लेखेको फिल्मका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ पनि छन् ।
यो फिल्मको निर्माण र प्रदर्शनीमा सहकार्य गर्दै शिक्षा र दुर्व्यसनी विरुद्धको यात्रामा जोडिएका संस्थाहरू नेपाल जेसिज, नार्कोनान नेपाल, प्याब्सन , एन(प्याब्सन , हिसान , शिक्षक महासंघ लगायत निर्माण ब्यानरसँग जोडिएका छन् ।
Categorized in पेजथ्री