arin enterprises

फिफा विश्वकप २०२२ को फाइनलमा अर्जेन्टिना र फ्रान्स भिड्ने

SamacharDesk | २०७९ मङ्सिर २९, बिहिबार

मोरोक्कोलाई २–० ले हराउँदै फ्रान्स कतारमा जारी विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । फ्रान्सले अब अर्जेन्टिनासँग आइतबार फाइनल भिडन्त गर्नेछ ।

फाइनल खेल दोहाको लुसेल आएकोनिक स्टेडियममा राति पौन ९ बजे सुरु हुनेछ । आइतवार हुने फाइनल खेल अर्जेन्टिना र फ्रान्स दुबै टोलीका लागि इतिहासमा तेस्रो पटक विश्वकप जित्ने अवसर हुनेछ ।

अर्जेन्टिनाले सन् १९७८ र १९८६ तथा फ्रान्सले सन् १९९८ र २०१८ को विश्वकप जितेका छन् । सन् १९५८ र १९६२ मा पेले र ब्राजिलपछि ६० वर्षसम्म कुनै पनि टिमले लगातार दुईपल्ट विश्वकप जित्न सकेको छैन ।

फ्रान्सका लागि यसपल्ट त्यो अवसर हुनेछ । लगातार फाइनलमा पुगेको चाहीँ सन् २००२ मा ब्राजिलपछि पहिलो हो । सन् २०१८ मा रुसमा सम्पन्न विश्वकपको फाइनलमा फ्रान्सले क्रोएसियालाई हराएर इतिहासमा दोस्रोपल्ट विश्वकप उपाधि उचालेको थियो ।

अर्जेन्टिना र फ्रान्स दुवैले पहिलो विश्वकप घरेलु मैदानमा आयोजकको रुपमा जितेका थिए । अर्जेन्टिनाले १९७८ मा आफ्नै मैदान नेदरल्याण्ड्सलाई ३(१ ले हराएर उपाधि जितेको थियो ।

सन् १९३० को पहिलो विश्वकपै फाइनल पुग्दा उरुग्वेसँग पराजित भएको अर्जेन्टिना १९९० र २०१४ को फाइनलमा पनि पराजित भएको थियो । फ्रान्सले सन् १९९८ मा पहिलो पटक फाइनल पुग्दा साविक विजेता ब्राजिललाई ३-० ले हराएर पहिलो पटक उपाधि जितेको थियो ।

अहिलेसम्म ब्राजिलले सर्वाधिक ५ पटक विश्वकप जितेको छ भने इटली र जर्मनीले समान चार पटक जितेका छन् । यस बाहेक उरुग्वेले २ पटक तथा इंग्ल्याण्ड र स्पेनले समान एक एक पटक विश्वकप जितेका छन् ।

सेमिफाइनलमा पराजित भए पनि मोरक्कोले तेस्रो स्थानका लागि शनिबार हुने खेलमा क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । मंगलबार राति सम्पन्न पहिलो सेमिफाइनलमा क्रोएसियाले अर्जेन्टिनासँग पराजय व्इहोरेको थियो ।

Categorized in स्पाेर्ट्स