arin enterprises

देशलाई उपाधी जिताई छोडे मेस्सीले

SamacharDesk – बिराज | २०७९ पौष ४, सोमबार

अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनेल मेस्सीलाई एउटा आरोप लाग्ने गर्थ्यो । उनले व्यक्तिगत जित्न सकिने कुनै पनि उपाधी बाँकि राखेनन् तर, देशका लागि केही पनि जित्न सकेनन् ।

यस्तै भन्ने गरिन्थ्यो मेस्सीलाई । तर उनले आफुमाथि यो दाग मेटाउन सफल भएका छन् ।

सन् २०१४ को विश्वकप फुटबलको फाइनल खेलमा जर्मनीसँग हारेलगत्तै निराश भएका मेस्सीले त्यो बेलै सन्यासको घोषणा गरेका थिए । तर पछि फेरी टोलीमा फर्केका मेस्सीले सन् २०२२ मा पुगेर भने राष्ट्रका लागि विश्वकप फुटबलको उपाधी दिन सफल भए ।

खेल जगतकै सबैभन्दा ठुलो मानिएको उपाधी जितेसँगै मेस्सीलाई लागेको त्यो दाग भने मेटिएको छ ।

मेस्सीकै कप्तानीमा अर्जेन्टिनाले गत वर्ष कोपा अमेरीका कप पनि जितिसकेको छ ।

यसलाई मेस्सीको सुखन विदाईको रुपमा लिइएको छ । तर मेस्सीले भने तत्काल सन्यास लिने आफ्नो कुनै योजना नभएको बताएका छन् ।

विश्वकप २०२२ को उपाधी जितेसँगै पत्रकारको प्रश्नको उत्तर दिँदै अर्जेन्टिनी स्टार फुटबलर मेस्सीले आफुलाई अझै विश्व च्याम्पियनको रुपमा अर्जेन्टिनाबाट खेल्न चाहना भएको बताए ।

‘तत्काल सन्यास लिने मेरो कुनै योजना छैन, विश्व च्याम्पियनको रुपमा अर्जेन्टिनाको जर्सीबाट फुटबल खेलिरहने मेरो इच्छा छ’ मेस्सीले भने ।

राष्ट्रिय टोलीबाट खेल्ने बताएपनि आगामी विश्वकप भने नखेल्ने मेस्सीको भनाई हो । यस अघि, कतार विश्वकपसँगै मेस्सीले सन्यास लिने अनुमान गरिएको थियो ।

सन् २०२२ को कतार विश्वकपसम्म आइपुग्दा मेस्सीले थुप्रै रेकर्ड आफ्नो नाममा गराउन पनि सफल भइसकेका छन् ।

कतार विश्वकपको फाइनल खेलसम्म आइपुग्दा मेस्सी विश्वकपको सर्वाधिक खेल खेल्ने खेलाडी बनेका छन् । फ्रान्ससँगको फाइनल खेलसँगै मेस्सीले विश्वकपमा खेलेको खेल संख्या २६ पुगेको छ ।

यस अघि यो रेकर्ड विश्वकपमा २५ खेल खेल्दै जर्मनीको लोथर मथाउसले कायम गरेका थिए । क्रोएशियाविरुद्धको सेमिफाइनल खेलसँगै मेस्सीले मथाउसको रेकर्डसँग बराबरी गरेका थिए भने फाइनल खेलसँगै मथाउसको रेकर्ड तोड्न सफल भएका छन् ।

कतार विश्वकपमा उत्कृष्ट खेलाडीको रुपमा गोल्डन बल जित्दै मेस्सीले दुई पटक गोल्डन बल जित्ने खेलाडीको रेकर्ड पनि कायम गरेका छन् । यस अघि उनले सन् २०१४ मा पनि गोल्डन बल जितेका थिए ।

साथमा मेस्सी पाँच वटा विश्वकप खेल्ने छैठौं खेलाडी पनि बनेका छन् ।

पाँच वटा विश्वकप खेल्ने खेलाडीमा ३ जना त मेक्सिकोकै रहेका छन् । मेक्सीकन एन्टेनियो कार्बजल, जर्मनका लोथर मथाउस, मेक्सिकोकै राफयल माक्र्वीज र एन्ड्रियाज गार्डाडो, पोर्चुगलका रोनाल्डोपछि मेस्सी पाँच विश्वकप खेल्ने छैठौं खेलाडी बनेका हुन् ।

अर्जेन्टिनाको साथै दक्षिण अमेरीकाबाटै सबैभन्दा बढि गोल गर्ने फुटबलरको रेकर्डसमेत बनाएका छन् ।

उनले हालसम्म अर्जेन्टिनाबाट लागि ९८ गोल गरेका छन् । यो सूचीमा दक्षिण अमेरीकाबाट फुटबल सम्राट भनिएका पेले ७७ गोलसहित दोश्रो नम्बरमा छन् भने अर्जेन्टिनाका ग्राबियल बाटिस्टुटा ५६ गोल गर्दै मेस्सीभन्दा पछि छन् ।

समग्र गोलमा भने मेस्सी तेश्रो स्थानमा छन् । पहिलो स्थानमा ८१९ गोलसहित पोर्चुगीज फुटबलर क्रिस्टियानो रोनाल्डो छन् भने दोश्रो नम्बरमा रहेका जोसेफ बिकानले ८०५ गोल गरेका छन् । मेस्सीले ७९३ गोल गरेका छन् ।

Categorized in स्पाेर्ट्स