प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री, आज अपराह्न शपथग्रहण
SamacharDesk – Ram Dangol | २०७९ पौष ११, सोमबार

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालको सपथ ग्रहण आज अपरान्ह हुने भएको छ ।
राष्ट्रपति कार्यालयले आज अपरान्ह ४ बजे नवनियुक्त प्रधानमन्त्री दाहालको सपथ ग्रहणको कार्यक्रम तय भएको जनाएको हो । सपथ ग्रहणलगत्तै आजै सानो मन्त्रिमण्डल पनि घोषणा हुने बुझिएको छ ।
हिजो गठबन्धन दलबीच भागवण्डा नमिल्दा नेकपा माओवादी नेकपा एमालेसँगको सत्ता साझेदारीमा पुगेको हो । दाहाललाई प्रधानमन्त्री बनाउन सात वटा दलले समर्थन गरेको छ । दाहाललाई नेकपा एमाले ७८, माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी १२, जनमत पार्टी ६, नागरिक उन्मुक्ति पार्टी ४ र ३ स्वतन्त्रसहित १६९ सांसदले समर्थन गरेका छन् ।
हिजो कांग्रेससंगको सत्ता बाँडफाँडमा कुरा नमिलेपछि एमाले अध्यक्ष केपी ओलीको अग्रसरताम नयाँ समीकरण बनेको हो । सत्तारुढ गठबन्धनमा भागबण्डाको विषयमा सहमति नजुटेपछि माओवादी केन्द्र एकाएक एमालेसँग मिल्न पुगेपछि अन्तिम समयमा आएर कांग्रेस–माओवादी गठबन्धनबाट माओवादी बाहिरिंदै नेकपा एमालेसँग मिल्न पुगेको हो ।
एमाले र माओवादी मिलेसँगै सबैभन्दा ठूलो दल नेपाली कांग्रेस मुख्य प्रतिपक्षी दलमा सीमित बन्न पुगेको छ । जसबाट संघीय सरकारमा हात धोएको कांग्रेसले अब सबै प्रदेशमा हैसियत गुमाउने भएको छ । पाँच दलीय गठनन्धन फुट्न्ुमा गठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेस मुख्य जिम्मेवार भएको विश्लेषकहरुको ठम्याई छ ।
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले भावी सरकारको नेतृत्व आफुले पाउनुपर्ने अडान राख्दै आएको थियो । तर, कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीको अडान छोडेन । सरकारको नेतृत्व पाउने अवस्था नरहेपछि माओवादी गठबन्धनबाट बाहिरियो र एमालेसंग गठबन्धन गरेर सरकारको नेतृत्व लिन सफल भएको छ ।
नेतृत्वको अहं र राजनैतिक कमजोरीको कारण प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धनकै सहयोगमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस सत्ता र शक्तिबाट सम्पूर्ण रूपमा बाहिर भएको छ ।
नयाँ प्रतिनिधिसभा र प्रदेशसभा गठन भएपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशसभाका सभामुख र उपसभामुख लगायतका पदमा नयाँ व्यक्ति निर्वाचित हुन्छन् ।
अब प्रतिनिधिसभा र प्रदेशसभामा बहुमत पु¥याउने एमाले गठबन्धनकै दलहरुले ती पद आपसमा भागवण्डा हुनेछ । नेतृत्वको अक्षमताले सम्पूर्ण सत्ता गुमाएको भन्दै कांग्रेसका नेताहरूले नै आक्रोश पोख्न थालेका छन् ।
यता नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ ।
गएराती ट्वीटर मार्फत मोदीले दाहाललाई बधाई दिंदै नेपालको नयाँ सरकारसंग मिलेर काम गर्न तत्पर रहेको बताउनु भएको हो ।
भारत र नेपालबीचको सम्बन्ध गहिरो विशिष्ट तथा सांस्कृतिक सम्बन्ध र जनताबीच न्यानो सम्बन्ध रहेको उल्लेख गर्दै मोदीले यो मित्रतालाई थप सुदृढ गर्न दाहालसंग मिलेर काम गर्ने बताउनु भएको छ ।
यस्तै चीनले पनि नवनियुक्त प्रधानमन्त्रीलाई बधाई दिएको छ । नेपालस्थित चिनियाँ राजदूतावासका कार्यबाहक राजदूत वाङ सिनले दाहाललाई टेलिफोन गरी बधाई दिएका हुन ।
यस्तै चिनियाँ दूतावासका प्रवक्ताले पनि सामाजिक सञ्जाल मार्फत बधाई दिएका छन् ।
Categorized in राजनीति