arin enterprises

दबूले श्रेष्ठको १०७ औं जन्मजयन्ती मनाउने

SamacharDesk – बिराज | २०७९ पौष १२, मंगलबार

नेवाः पत्रकार राष्ट्रिय दबूले यस वर्ष पनि नेपाल पत्रकार संघका स्थापना गरी पत्रकार संगठनको शुरुवात गरेका सत्यनारायण बहादुर श्रेष्ठको जन्म जयन्ती मनाउने भएको छ । पत्रकार राष्ट्रिय दबूले बुधबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी श्रेष्ठको १०७ औं जन्मजयन्ती मनाउन लागेको हो ।

नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको रुपमा श्रेष्ठको नाम राखिनुपर्ने माग गर्दै दबूले हरेक वर्ष उनको जन्मजयन्ती मनाउँदै आएको छ । यस वर्ष पनि यसै विषयमा राज्यको साथै सरोकारवाला सम्पूर्ण निकायको ध्यानाकर्षण गराउँदै जन्मजयन्ती कार्यक्रमको आयोजना गर्न लागेको दबूले जनाएको छ ।

दबूले विज्ञप्ती जारी गर्दै गोरखापत्रमा २००९ सालमा प्रकाशित समाचारले पनि २००८ सालमा श्रेष्ठले संस्थापक अध्यक्षका रुपमा नेपाल पत्रकार संघलाई अघि बढाएको तथ्यलाई पुष्टि गरेको जनाएको छ ।

‘२००८ सालमा पत्रकार एकताका लागि सत्यनारायण बहादुर श्रेष्ठ थाल्नु भएको कदम अर्थात नेपाल पत्रकार संघको स्थापना सर्व स्वीकार्य तथ्य हो । तैपनि यो तथ्य पत्रकार महासंघले नै आत्मसात् गरेको देखिँदैन । यति मात्रै होइन अझ यो इतिहास मेट्ने समेत प्रयास भइरहेको छ’ दबूबाट जारी विज्ञप्तीमा लेखिएको छ ।

२००८ सालको इतिहास मेटेर राजनैतीक प्रभावमा परी २०१२ सालका अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई पत्रकार महासंघका संस्थापक अध्यक्ष भनिनु हास्यास्पद भएको दबूले जनाएको छ । यसै विषयमा ध्यानाकर्षण गराउँदै राज्यको साथै नेपाल पत्रकार महासंघका प्रायः सबै कार्यससमिति तथा नेतृत्वलाई झक्झक्याउँदै आएको, ज्ञापनपत्र दिएको दबूले भनेको छ ।

‘सामान्य छलफलमा प्रायःले स्वीकार्ने र सत्यनारायण बहादुर श्रेष्ठको उक्त कर्मप्रति मान दिने यो तथ्य औपचारिकतामा प्रवेश गर्नासाथ ओझेलमा पार्ने प्रयास किन हुन्छ ?’ दबूले प्रश्न गरेको छ ।

२००८ सालमा नेपाल टुडेका सम्पादक सत्यनारायण बहादुर श्रेष्ठले नेपाल पत्रकार संघ स्थापना गरेका थिए । २००९ वैशाख २८ गते आर्य समाज मन्दिर, भोटाहिटिमा सम्पन्न संघको दोश्रो सभाबाट पुनः श्रेष्ठलाई नै अध्यक्ष चयन गरेको थियो ।

Categorized in समाज