arin enterprises

ताम्सीपाखा महोत्सव भव्य रुपमा सम्पन्न

SamacharDesk – बिराज | २०७९ पौष १५, शुक्रबार

काठमाडौं महानगरपालिका १८ वडास्थित ताम्सीपाखामा ताम्सीपाखा सडक महोत्सव भव्य रुपमा सम्पन्न भएको छ ।

नेपाल सम्वत ११४३ को अवसरमा काठमाडौं महानगरपालिका १८ वडा कार्यालयले आयोजना गरेको महोत्सव शुक्रबार सम्पन्न भएको हो ।

महोत्सवमा विभिन्न कलाकारहरुको सांगितिक प्रस्तुतिको साथमा प्रहसनले आम दर्शकलाई मनोरन्जन दिएको थियो ।

सुल्तान अफ स्ट्रीङ अनिल शाहीको प्रस्तुतिमा दर्शक निकै रमाएका थिए । शाहीले गितारमा आफ्ना औंलाहरुको जादु त देखाए नै, साथमा गीत पनि गाएर सुनाएका थिए ।

त्यसैगरी रोजी श्रेष्ठ, सरस्वती मानन्धर, गंगा महर्जन, दीपा महर्जन, लजना मानन्धर, सोनी राजभण्डारी लगायतका गायिकाहरुको प्रस्तुतिले महोत्सवमा रौनक थपेको थियो ।

त्यस्तै कृष्ण महर्जन, अनिल तुलाधर, सुरेश मानन्धरलगायतका गायकहरुले पनि वातावरण तताएको थियो ।

सोही महोत्सवमा कामपा १८ वडा कार्यालयले विभिन्न समयमा आयोजना गरेको तालीमका सहभागी गृहिणीहरुबाट उत्पादित हस्तकलाका सामग्रीहरुको स्टल पनि राखिएको थियो ।

त्यस्तै यःमरि, समयबजि लगायतका काठमाडौंको मौलिक परिकारहरुको स्टल पनि महोत्सवमा राखिएको थियो ।

नेपाल सम्वत नयाँ वर्षको अवसर पारेर वडाले वर्षेनी १८ वडा भित्रका विभिन्न स्थानमा भिन्तुना सनिल कार्यक्रम गर्दै आएको छ ।

सोही भिन्तुना सनिल कार्यक्रम अन्तर्गत यस वर्ष ताम्सीपाखामा सडक महोत्सवको आयोजना गरिएको हो । 

Categorized in स्थानीय