यस वर्षको माधवनारायण व्रत मेलाको तयारी पूरा
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ पौष १५, शुक्रबार

यस वर्षको शंखरापुर (साँखु) को ऐतिहासिक धार्मिक माधवनारायण व्रत मेलाको लागि सम्पूर्ण तयारी पूरा भएको छ ।
श्री माधवनारायण स्वस्थानी व्रत कथा तथा शालिनदी सुधार समितिले शुक्रबार साँखुमा पत्रकार सम्मेलनको आयोजना गरी एक महिने मेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
यस वर्षको मेला आउँदो पुस २२ गते शुक्रबारबाट सुरु हुने लागेको छ । समितिले आजसम्म अटुट रुपमा संचालन हुँदै आएको मेलालाई यस वर्ष पनि व्यवस्थित रुपमा निरन्तरता दिन आफुहरु तयार भइसकेको बताएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले केही सरसफाईको काम बाँकि भएपनि आउँदो १८ गतेसम्म सम्पूर्ण काम सम्पन्न हुने बताए ।
कोभिड कोरोनाभाईरसको नयाँ भेरीएन्टको संक्रमणलाई समेत ध्यानमा राखी व्रतालु र धार्मिक पर्यटकहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
‘व्रतालुको साथमा धार्मिक पर्यटकहरुलाई स्यानिटाईजर र माक्स निःशुल्क वितरण गरिनेछ, साथै सम्पूर्ण व्रतालुको निमोनियाको जाँचको लागि एक्सरेको समेत व्यवस्था गरेका छौं’ अध्यक्ष श्रेष्ठको भनाई हो ।
केही वर्ष कोभिड–१९ महामारीका कारण मेला भर्न आउने भक्तजनको संख्यामा केही कमी देखिएको भएपनि यस वर्ष ३० देखि ३५ लाख भक्तजन मेला भर्न आउने अनुमान समितिको रहेको छ ।
व्रतालुहरुको वास, खाना, स्नान, परदेश यात्राको लागि यातायात लगायतका सम्पूर्ण तयारी पूरा भएको समितिले जनाएको छ । साथै मेला भर्न आउने दर्शनार्थीको सुविधाको लागि शौचालय, यातायात, स्वास्थ्य परिक्षण लगायत सम्पूर्ण व्यवस्था मिलाइसकेको पनि समितिले जनाएको छ ।
माधवनारायण व्रत मेलाले शंखरापुर र वरपरका क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पु¥याउने समितिको दावी छ ।
यस वर्षको माधव नारायण स्वस्थानी व्रत मेलाको क्रममा पुस २१ गते ‘चिभ्वय् नयेगु’ अर्थात नुन भोज खाने कार्यक्रम रहेको छ भने २२ गतेबाट व्रत पूजा सुरु हुँदैछ ।
निकै कठिन मानिने माधवनारायण व्रत हरेक बर्ष पौष शुक्ल पूर्णिमाको दिनबाट सुरु भई माघ शुक्ल पूर्णिमासम्म चल्ने गर्दछ ।
Categorized in संस्कृति