arin enterprises

ललितपुर महानगरपालिकाका सरसफाईकर्मीलाई पिपिइ वितरण

SamacharDesk – विगेन तुलाधर | २०७६ चैत्र २३, आइतबार

कोभिड १९ को त्रास र जोखिमका बीच ललितपुर महानगरको सरसफाईमा जुटेका ललितपुर महानगरपालिकाका सरसफाईकर्मीहरुलाई पनि व्यक्तिगत सुरक्षा उपकरण पिपिई वितरण गरिएको छ ।

खानेपानी तथा सरसफाईमा कार्यरत गैर सरकारी संस्था गुथिले यस्तो भयावह स्थितीमा सरसफाई मजदुरहरुको स्वास्थ्य सुरक्षाको आवश्यकतालाई महसुस गर्दै वाटर एड नामक अन्तराष्ट्रिय गैर सरकारी संस्थाको आर्थिक सहयोगमा ललितपुर महानगरपालिकामा कार्यरत सरसफाईकर्मिहरुलाई सुरक्षा सामग्री हस्तान्तरण गरेको हो ।

सो अवसरमा बोल्दै मेयर चिरी बाबु महर्जनले भने, ‘लकडाउनका कारण सामग्री अभाव भएको अवस्थामा यस्तो सहयोग पाउनाले नगरपालिकालाई ठुलो राहत पुगेको छ । यी सामग्री अस्पताल लगायत संक्रमित फोहोर व्यवस्थापन गर्न सरसफाई मजदुरद्वारा प्राथमिकताका साथ प्रयोग हुनेछ ।’ 

प्राप्त सामग्रीको सही सदुपयोग र आवश्यक व्यवस्थापनको जिम्मेवारी महानगरपालिकाले लिने कुरामा उहाँले जोड दिनुभयो ।

वाटर ऐड नेपालका राष्ट्रिय प्रतिनिधि तृप्ति राईले अहिलेको अवस्थामा महामारीको नियन्त्रण गर्न हात धुने र सामाजिक दुरी कायम गर्नु पर्ने कुरामा ध्यान दिनुपनेमा जोड दिनुभयो । 

यसको निम्ति ठाउँ ठाउँमा हात धुने स्टेसन राख्नु पर्नेमा जोड दिँदै त्यसका लागि चाहिने सहयोग दिन वाटर एड नेपाल प्रतिवद्ध रहेको राईले प्रष्ट पार्नुभयो । 

‘सरसफाई सेवा लकडाउन या जुनसुकै अवस्थामा पनि जारी रहन्छ । सरसफाईकर्मीहरुले प्रदान गर्ने अत्यावश्यक सेवालाई ध्यानमा राख्दै उनीहरुलाई चाहिने सुरक्षा सामग्रीको व्यवस्था सरकारले गर्नु जरुरी छ । अहिलेको जोखिमपूर्ण समयमा यो झनै महत्वपुर्ण छ ।’ राईले भन्नुभयो ।

जनस्वाथ्यका लागि अपरिहार्य सरसफाईमा जुटेका सरसफाईकर्मीको स्वास्थ्य र सुरक्षामा ध्यान दिनु अति आवश्यक भएको कुरा फोहोरमैला व्यवस्थापन संघ नेपालका महासचिव मित्र धिमिरेले भन्नुभयो ।

‘अहिलेको महामारीको अवस्थामा महानगरपालिकामार्पmत सुरक्षा सामग्री उपलब्ध गराउनुको उद्देश्य सरसफाईकर्मीहरुको पेशालाई सुरक्षित गराउनु हो । यसले उनीहरुको पेशागत बानीव्यहोरामा परिवर्तन ल्याउनका लागी सचेतनाको काम गर्छ र नगरपालिकाले उक्त संवेदनशील पेशाकर्मीहरुलाई आवश्यक सहयोग र अनुगमन गरी यस कार्यमा बल पुर्याउनेछ भन्ने हामीले आशा गरेको छौं’ गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यको भनाई थियो । 

गुथिले यस अघि काठमाडौं महानगरपालिका र कीर्तिपुर नगरपालिकामा सरसफाईकर्मीलाई पिपिई वितरण गरिसकेको छ । 

जम्मा ५०० थान सुरक्षा सामग्री वितरण गरिएकोमा ललितपुर महानगरपालिकाको आन्तरिक प्रयोजनका लागी ५० थान वितरण गरिएको हो । काठमाडौं महानगरपालिकाको आन्तरिक प्रयोजनका लागी ५० थान, कीर्तिपुर नगरपालिकाको आन्तरिक प्रयोजनका लागी १० थान वितरण गरिएको थियो ।

बाँकी ३९० थान सुरक्षा सामग्री फोहोरमैला व्यवस्थापन संघ नेपालको मार्पmत उपत्यका भित्र अनौपचारिक क्षेत्रमा सरसफाईको काम गर्ने मजदुरहरुलाई वितरण गरिएको छ ।

Categorized in समाज