arin enterprises

टोटनह्याम एस्टनभिल्लासँग पराजित, चेल्सी रोक्यो बराबरीमा

SamacharDesk | २०७९ पौष १८, सोमबार

इंग्लीश प्रिमियर लिग अन्तर्गत गएराती भएको फुटबल खेलमा एस्टन भिल्ला विजयी भएको छ भने चेल्सी बराबरीमा रोकिएको छ ।

हिजो भएको एस्टन भिल्ला र टोटनह्याम हट्सपरबीच खेलमा भिल्लाले टोटन ह्यामलाई २–० ले हराएको छ । गएराति टोटनह्यामको मैदानमा भएको खेलमा भ्रमणकारी टोली एस्टन भिल्लालाई विजयी गराउन इमिलियानो बुएन्दिया र डग्लस लुइजले एक एक गोल गरे ।

जितसँगै एस्टन भिल्लाले टोटनह्यामका प्रशिक्षक एन्टोनियो कोन्टेमाथिको दबाब बढाएको छ । टोटनह्यामले जारी सिजनको प्रिमियर लिगमा सोचे अनुसारको प्रदर्शन गर्न नसकेपछि प्रशिक्षक कोन्टे दबाबमा छन् ।

गएराति भएको अर्को खेलमा चेल्सीलाई नटिङ्घम फरेष्टले १–१ गोलको बराबरीमा रोकेको छ । फरेष्टको मैदानमा भएको खेलमा चेल्सीका राहिम स्टर्लीङले पहिलो गोल गरे ।

६३ औं मिनेटमा सर्जी औरियरले एक गोल फर्काउदै खेल बराबरी गरेका हुन् । गएरातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा १६ खेलबाट ४३ अंक जोडेको आर्सनल शिर्ष स्थानमा यथावत छ ।

समान खेलबाट ३६ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ भने एक खेल बढी खेलेको न्युकासल युनाइटेड ३४ अंकसहित तेस्रो स्थानमा रहेको छ ।   

Categorized in स्पाेर्ट्स