arin enterprises

प्रधानमन्त्री दाहाललाई ९९ प्रतिशत विश्वसाको मत

SamacharDesk | २०७९ पौष २६, मंगलबार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट विश्वासको मत पाउनुभएको छ ।

संविधानको धारा ७६ को उपधारा ४ अनुसार प्रचण्डले आज संसदमा विश्वासको मत लिनुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डका पक्षमा २६८ जना सांसदले विश्वासको मत दिएका छन् भने राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मात्र विपक्षमा मतदान गरेका छन् ।

आजको बैठकमा २७० सांसद उपस्थित थिए । नेकपा (एमाले) सहित विभिन्न सात दल र स्वतन्त्र गरी १६९ जना सांसदको समर्थनमा प्रचण्ड पुस १० गते प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।

प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ । प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन नगरेका नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टीले आज बिहान मात्रै उहाँलाई विश्वासको मत दिने निर्णय गरेका थिए ।

संसदमा प्रतिनिधित्व गर्ने १० पार्टीले समर्थन गरेपछि प्रधानमन्त्री प्रचण्डले संसदमा असाधरण बहुमत प्राप्त गर्नुभएको छ । संसदमा विश्वासको मत लिइसकेपछि अब दुई वर्षसम्म प्रधानमन्त्री प्रचण्डविरूद्ध अविश्वासको मत ल्याउन पाइँदैन ।

यसअघि संसदमा भएको छलफलमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सबै दलले विश्वासको मत दिने भएपछि आफूलाई न्याय भएको बताउनुभएको थियो ।

Categorized in राजनीति