arin enterprises

लामिछाने अनागरिक बाट नागरिक

SamacharDesk | २०७९ माघ १५, आइतबार

गत शुक्रबार मात्र सर्वाेच्चको फैसलापछि अनागरिक भएका निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आज फेरि नेपाली नागरिक बनेका छन् ।

लामिछानेले आज जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।

लामिछानेले २०५० सालमा लिएको नागरिकता नम्बर नै उल्लेख भएको नागरिकता प्रदान गरिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् ।

‘उहाँको नयाँ नागरिकता जारी भएको हो, नागरिकता नम्बर भने पुरानै कायम छ ।’ उनको वंशजकै नागरिकता पुन; कायम भएको छ ।

लामिछानेले अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागिसकेको र त्यसको निस्सा पाइसकेकाले उक्त निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाएर प्रक्रिया पूरा गरी नयाँ नागरिकता पाएका छन् ।

अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै अदालतले रविले नेपाली नागरिकका रूपमा गरेका सबै कार्य अवैध हुने सर्वोच्चको संवैधानिक इजलासले फैसला गरेको थियो । 

सर्वाेच्चको फैसलापछि लामिछाने सांसदको पद समेत खारेज भएको थियो । सांसद पद खारेज भएसँगै लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पदबाट स्वतः पदच्युत हुनुभएको थियो ।

यता रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठबाट लामिछानेलाई नै पार्टीको सभापति पुनःस्थापित गर्ने देखिएको छ । बैठकमा रविलाई सभापति बनाउने प्रस्ताव पारित गर्ने स्रोतको भनाइ छ ।

शुक्रबार बसेको वैठकले डीपी अर्याललाई कार्यवाहक सभापति र पार्टी संसदीय दलको जिम्मेवारी दिएको थियो ।

Categorized in समाज