रास्वपा सरकारबाट बाहिरिए
SamacharDesk | २०७९ माघ २३, सोमबार

सरकारलाई दिएको समर्थन कायमै राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको छ ।
रास्वपाको हिजो बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
सत्तारूढ गठबन्धनमा यसअघि भएको सहमतिअनुसार गृह मन्त्रालय आफ्नो पार्टीलाई नदिएपछि गठबन्धनको तेस्रो ठूलो दल रास्वपा सरकारबाट बाहिरिएको हो ।
रास्वपाले सरकार छोड्ने निर्णय गरेसँगै थप दुई मन्त्रालय खाली हुने भएका छन् ।
यसअघि प्रधानमन्त्री दाहालले युवा तथा खेलकुद र वन तथा वातावरण मन्त्रालय आफैंसँग राख्नुभएको थियो । तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुरानो नागरिकता कायम नरहेको सर्वोच्चको फैसलासँगै उहाँका् सांसद पद बदर भएको थियो ।
त्योसँगै लामिछाने गृहमन्त्रालयको जिम्मेवारीबाट पनि मुक्त हुनुभएको थियो ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले हिजै प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर राजीनामा बुझाएका हुन् ।
उनीहरु यही माघ ३ गते मन्त्री नियुक्त भएका थिए ।
Categorized in राजनीति