arin enterprises

देशभरका स्वास्थ्य संस्थाहरु ठप्प, सेवाग्राहीहरु प्रदर्शनमा

SamacharDesk | २०७९ माघ २९, आइतबार

गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संसद वैठकलाई सम्बोधन गर्न जाने क्रममा एक जना स्वास्थ्यकर्मीमाथि प्रहरीले दुब्र्यवहार गरेको भन्दै नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ ।

भिभिआईपीको सवारीबाट आम सर्वसाधारण पुग्ने सास्तीलाई सदाका लागि अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउने उद्धेश्यले सेवा बन्द गराउने निर्णय संघ कार्यकारिणी समितिको आकस्मिक बैठकले गरेको हो ।

जस अनुसार देशभरका सरकारी, गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा ठप्प छन् ।

सेवा ठप्प हुँदा विरामीहरु भने मर्कामा परेका छन् । विहानै उपचारका लागि अस्पताल पुगेका विरामीहरु अलपत्र पर्दै फर्किन बाध्य भएका छन् ।

यसैबीच आज वीर अस्पताल अगाडिको सडकमा विरामी र तिनका आफन्तहरुले उपचार सेवाको माग गर्दै प्रर्दशन गरेका छन् ।

उनीहरुको प्रदर्शनको कारण केहीबेर यातायात सेवा प्रभावित भएको थियो । सडक अवरुद्ध हुने गरी प्रदर्शन गर्नेहरुलाई प्रहरीले अहिले भने हटाएको छ ।

गत शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि अस्पताल परिसर भित्रै प्रहरीले लाठी चार्ज गरी गम्भीर घाइते बनाएको थियो ।

स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सक सिंहले शल्यक्रिया सम्पन्न गरी घर निस्किने क्रममा आफ्नो परिचय पत्र देखाउँदा देखाउँदै पनि अस्पताल परिसर भित्रै प्रहरीद्वारा सांघातिक आक्रमण भएको थियो ।

चिकित्सकमाथि आक्रमणको विरोधमा आज प्रदर्शन समेत भएको छ । उता स्वास्थ्य मन्त्रालयले भने आन्दोलन फिर्ता लिएर विरामीको सेवामा फर्किन चिकित्सकहरुलाई आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सेवा ठप्प नपारी सेवालाई निरन्तर राख्न आग्रह गर्नुभएको हो ।

चिकित्सकलाई दुब्र्यवहार गर्ने प्रहरीलाई निलम्बन गरी कारबाहीको प्रक्रिया अघि बढाइसकेको भन्दै विज्ञप्तिमा घटनाको विषयमा थप छलफल गरी समस्याको समाधान गर्ने प्रयास भइरहेकाले आन्दोलन फिर्ता लिएर सेवालाई निरन्तरता दिन आग्रह गरिएको छ ।

Categorized in राष्ट्रिय