arin enterprises

लोत्से मलमा लुटपाट गर्ने ४० जना पक्राउ

SamacharDesk | २०७९ फाल्गुण ७, आइतबार

गत साता यातायात व्यवसायीले गरेको आन्दोलनका क्रममा नयाँ बसपार्कस्थित लोत्से मलमा तोडफोड गरी लुटपाट गर्नेहरुलाई प्रहरी पक्राउ गरेको छ ।

मलमा तोडफोड गर्ने तथा प्रहरीको सवारी साधन आगजानीमा संलग्न ४० जनालाई प्रहरीले पक्राउ गरेको छ । यातायात मजदुरका नाममा प्रहरीका दुईवटा भ्यानमा आगो लगाउने, लोत्से मल तोडफोड गर्ने तथा मोबाइल लुटपाटमा संलग्न भएको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको  हो ।

आन्दोलनकारीले लोत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल प्रालि, डायमन्ड मोबाइल प्रालि र गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौं सुपर मार्केट प्रालिमा तोडफोड गरी मोबाइल, चार्जर, रिचार्ज, एयरफोनलगायत सामग्री लुटपाट गरेका थिए ।

उनीहरुले प्रहरी वृत्त बालाजुको बा २ झ १४४ नंको स्कार्पियो र बा१झ ७२२४ नंको गाडी समेत जलाउनुका साथै बालाजु र माछापोखरी चोकको ट्राफिक आयल्यान्डमा क्षति पु¥याएको प्रहरीको आरोप छ ।

आन्दोलनका क्रममा बालाजु चोकको अस्थायी प्रहरी पोष्टमा समेत आगो लगाइएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले आगजानी र तोडफोड संलग्न २९ र मोबाइल लुटपाटमा संलग्न ११ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिनुभयो ।

लुटपाटमा संलग्नलाई मुलुकी अपराधसंहिता (ऐन), २०७४ परिच्छेद २० चोरी तथा काँकासम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्नाका साथै आगजानी तथा तोडफोड गर्नेलाई मुलुकी अपराधसंहिता (ऐन) को परिच्छेद २६ को दफा दुई सय ८५ बमोजिम आपराधिक उपद्रव गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको प्रवक्ता रिजालको भनाइ छ ।

Categorized in अपराध