उत्सव मात्र होइन, आन्दोलन हो मातृभाषा पत्रकारिता शतवार्षिकी
SamacharDesk – नृपेन्द्रलाल श्रेष्ठ | २०७९ फाल्गुण ९, मंगलबार

संसारमा बंगलादेश मात्र त्यस्तो राज्य हो, जुन भाषाका कारण टुक्रिएर अस्तित्त्वमा आयो । राजनैतीक कारणबाट धेरै देश टुक्रा भए होलान्, तर भाषाको कारण लिएर पाकिस्तानबाट टुक्रा भइ बंगलादेश अस्तित्वमा आयो ।
मातृभाषा बोल्ने अधिकार माग गर्दै भएको आन्दोलनको फलस्वरुप बंगलादेश बनेको इतिहास हेरेपछि मातृभाषी समुदायलाई आफ्नो भाषाप्रति कत्तिको प्रेम हुन्छ भन्ने थाहा हुन्छ । त्यसैले पनि संसारमा मातृभाषा प्रेमको कुरा आउँदा बंगलादेशलाई उदाहरणको रुपमा लिने गरिन्छ ।
बंगलादेशमा भाषिक अधिकारको आन्दोलन २१ फेब्रुअरी १९५२ का दिन भएको हो । यहि दिनलाई सम्झना गर्दै आजभोलि अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउने गरेको छ ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवस हरेक मातृभाषा प्रेमीहरुलाई विशेष दिन हो । मातृभाषासित सम्वन्धित विभिन्न संघ, संगठन, व्यक्तिभएको ठाउँमा विशेष तरिकाले कार्यक्रम संचालन भइरहेको पाइन्छ ।
मातृभाषाको माध्यमबाट पत्रकारिता गरिरहेका पत्रकार अथवा मातृभाषी पत्रकारहरुको लागि झन यो विशेष र महत्वपूर्ण दिन हो ।
नेवाः समुदायमा नेपालभाषा माध्यमबाट पत्रकारिता गरिरहेका नेवाः पत्रकारहरुको विचमा मातृभाषा पत्रकारितालाई लिएर वहसको विषय बनाउन राष्ट्रिय स्तरका नेवाः पत्रकारितालाई चिनाउन नेवाः पत्रकार राष्ट्रिय दबूबाट काम भइरहेको छ ।
नेवाः पत्रकार राष्ट्रिय दबू पत्रकारिता क्षेत्रमा शसक्त रुपमा अगाडि बढिरहेको संगठन हो । पत्रकार दबू स्थापना भइसकेपछि मातृभाषा पत्रकारिता र समावेशी पत्रकारीतामा बहस र छलफल निरन्तर भइरहको छ । दबूबाट अहिले सम्म अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा दुइचोटि गोष्ठी भइसकेको छ भने नेपाल आदिवासी जनजाती पत्रकार महासंघसगँ सहकार्य गरेर दुइचोटि मातृभाषा पत्रकारिता राष्ट्रिय सम्मेलन गरिसकेको छ ।
यहि कायक्रमबाट मातृभाषा पत्रकारिता क्षेत्रको अवस्थाबारे कुरा राख्ने अवसर दिएको हो । यस दबूबाट गएको २०७९ पुस २३ (११४३ पोहेलाथ्व पारु) को दिन चौथो महाधिवेशनबाट १९ जना कार्यसमितिमा चयन भएर आएको छ ।
नयाँ कार्यसमिति निर्वाचित भइसकेपछि गएको पुस १९ गते देखि २१ गतेसम्म बुद्धको जन्मभुमि लुम्बिनीमा दबूका नयाँ समितिको पहिलो पूर्ण बैठक बसेको हो । सोहि बैठकंबाट धर्मादित्य धर्माचार्यं मातृभाषां पत्रकारिता गरेको सय वर्ष पुराभएको सन्दर्भलाई लिएर मातृभाषा पत्रकारिताया शतवार्षिकी मनाउने गरि महन्त्वपूर्ण ऐतिहासिक निर्णय गरेको छ ।
धर्मादित्य धर्माचायले ने.सं. १०४५ मा ‘बुद्धधर्म’ नामक पत्रिका प्रकाशन गरी नेपालमा नै मातृभाषा माध्यमबाट पत्रकारिता सुरु गरेका थिए । यसैसँग उनी नेपालकै पहिलो मातृभाषी पत्रकार पनि बनेका हुन् ।
यहि दिनको स्मरणमा पत्रकार दबूबाट ने.सं. ११४४ देखि ११४५ सम्म शतबार्षिक उत्सवको रुपमा विभिन्न कार्यक्रम गर्दै मातृभाषा पत्रकारिता वर्ष मनाउने निर्णय गरिसकेको छ ।
मातृभाषा माध्यमबाट पत्रकारिता सुरु भएको सय वर्ष पूरा भएको अवसरमा नेपालभाषाको छापा, अनलाइन, टेलिभिजन र रेडियोमा इतिहासदेखि वर्तमानसम्मका पत्रकारितालाई लिएर पुस्तक नै प्रकाशन गर्ने भएको छ । त्यसैगरी धर्मादित्य धर्माचायको फोटो अंकित चाँदिको सिक्कादेखि हुलाक टिकट प्रकाशनसम्मको लागि संघीय सरकारको ध्यानाकर्षण गराउने भएको छ ।
यति मात्र नभइ मातृभाषा बिकासका लागि धर्मादित्य धर्माचार्यको नामंबाट धर्मादित्य धर्माचार्य संचार प्रतिष्ठान स्थापना गर्न नेपाल सरकारलाई दवाब दिने निर्णय पनि दबूबाट भएको छ ।
यस्तै कार्यक्रमको लागि मात्र कार्यक्रमको आयोजना नभइ नतिजा नै दिनका लागि दबूका उपाध्यक्ष सुरेन्द्र भक्त श्रेष्ठको संयोजनमा एक समिति गठन भएको छ ।
यी सबै कुराहरु गरिरहँदा नेवाः पत्रकार राष्ट्रिय दबूले नै किन मातृभाषा पत्रकारिता दिवसलाई यसरी भव्यताका साथ एक वर्षसम्म मातृभाषा पत्रकारिता वर्षको रुपमा मनाउनु पर्यो भन्ने प्रश्न आएमा यसलाई स्वाभाविकै मान्न सकिन्छ । यसको लागि नेपालको पत्रकारिता क्षेत्रमा नेवाः पत्रकारहरुको योगदानलाई खोतल्दा सहजै उत्तर पाउन सकिन्छ ।
नेपालको संचार क्षेत्रमा, मातृभाषा पत्रकारिताको विकासमा नेवाः पत्रकारहरुको नेतृत्त्वदायी भूमिका देख्न सकिन्छ । मातृभाषाका प्रथम पत्रकारका साथै पत्रिकाको प्रकाशक धर्मादीत्य धर्माचार्य हो भन्ने कुरा माथि नै उल्लेख भइसकेको छ ।
त्यस्तै नेपालमा पत्रकारहरुको पहिलो संगठन नेपाल टुडको सम्पादक सत्यनारायण बहादुर श्रेष्ठले निर्माण गरेका थिए । उहाँले बि.सं. २००८ सालमा नेपाल पत्रकार संघ गठन गरी नेपालमै पहिलो पत्रकारहरुको संगठनको सुरुवात गरे ।
त्यसै बि.सं. २०१० असार ४ गते मातृकाप्रसाद कोइरालाको नेतृत्वमा गठन भएको सरकारको पहिलो संचारमन्त्री त्रिपुरवर सिहं प्रधान थिए । २०१६ साल जेठ १३ गते बिश्वेश्वर प्रसाद कोइरालाको नेतृत्वमा जननिर्वाचित सरकारको पहिलो जननिर्वाचित संचार मन्त्री प्रजातान्त्रिक आन्दोलनका अभियन्ता गणेशमान सिंह थिए ।
पहिलो महिला पत्रकार साधना प्रधान र कामक्षादेबी हुन् । उहाँहरु बि.सं. २००८ साल जेष्ठ महिनामा नेपाल महिला संगठनंबाट प्रकाशित ‘महिला’ नामक मासिक पत्रिकाका सम्पादक थिए ।
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको नाम पनि यहाँ छुटाउनु मिल्दैन । जोशीले २००९ सालमा कलाकार नामक पत्रिका हिन्दी, नेपालीभाषाको साथै अग्रेजी र नेपालभाषा गरी चारवटा भाषामा बहुभाषिक पत्रिका प्रकाशन गरेका थिए ।
नेपालमा मातृभाषालाई दमन गर्ने, मातृभाषीलाई थुन्ने गरेको इतिहास पनि यहाँनेर बिर्सन सकिन्न । बि.सं. १९९७ सालमा राणाशासन विरुद्ध बोल्नेहरुलाई झुण्याएइको थियो भने नेपालभाषाबाट लेख्नेहरुलाई राज्यले चरम यातना दिएको थियो ।
त्यो बेला नेपालभाषा पत्रिकाका सम्पादक, प्रकाशक फत्तेबहादुर सिंहलाई जन्मकैद, सिद्धिचरण श्रेष्ठ र धर्मरत्न यमिलाई १८ वर्ष, चित्तधरलाई ६ वर्ष र धर्मादित्य धर्माचार्यलाई ३ महिना जेल सजाय दिइएको थियो ।
फत्तेबहादुर सिंहको प्रकाशन र सम्पादनमा २०१२ भाद्र महिनामा नेपालभाषाको दैनिक पत्रिका ‘नेपालभाषा पत्रिका’ प्रकाशन भएको थियो । यो नेपालभाषाको पहिलो र नेपालको तेस्रो दैनिक हो
तत्कालीन समयमा नेपालमा बसेर नेपालकै मातृभाषामा लेखिएका पुस्तक, पत्रपत्रिका छाप्ने, प्रकाशन गर्ने पनि कुनै सजिलो काम थिएन । त्यसैले भारतको कलकत्ता र कालिम्पोङबाट पत्रिका, पुस्तक छापेर लुकाएर नेपाल ल्याउने गरिन्थ्यो । अझ, त्यो पनि बाटोमा फेला परेमा भने जफत गरिन्थ्यो ।
त्यस्तै, ३० वर्ष अगाडि पंचायती व्यवस्थाले पनि सरकारको विरुद्ध केही लेखेमा जेलमा बस्नुपथ्र्यो । ०४६/४७ सालमा जनआन्दोलन पछि देशमा बहुदलीय व्यवस्था आयो । त्यसपछि मातृभाषा माध्यमबाट पत्रकारिता गरिरहेकाहरुले परिवर्तनको आशा गरे । तर भन्नैपर्दा त्यो परिवर्तन मातृभाषी पत्रकारहरुले आजसम्म पनि अनुभूति गर्न पाएका छैनन् ।
सरकारमा बस्नेहरुले कहिले पनि भाषिक पत्रकारिता क्षेत्रमा परिवर्तन ल्याउन पहल गरेनन् । आज नेपालको संविधानमा पूर्ण प्रेस स्वतन्त्रता भनेतापनि मिडिया विधेयक, सूचना प्रविधि विधेयक आदि ल्याइ दण्ड जरीवाना लिने गरेको छ । यस्तो परिस्थितिमा त मातृभाषी पत्रकारहरुले राणा शासन फर्केको आभाष गरिरहेका छन् ।
देशमा लोकतान्त्रिक गणतन्त्र आइसकेको अवस्थामा पनि सरकारले पत्रकारिता क्षेत्रमा परिवर्तन ल्याउन खासै प्रयास गरेको देखिन्न ।
नेवाः पत्रकारिताको कुरा गर्ने हो भने आज भन्दा ६७ वर्ष पहिले नेपालभाषाको दैनिक पत्रिका प्रकाशन भइसकेको थियो । फत्तेबहादुर सिंहको प्रकाशन र सम्पादनमा २०१२ भाद्र महिनामा नेपालभाषाको दैनिक पत्रिका ‘नेपालभाषा पत्रिका’ प्रकाशन भएको थियो । यो नेपालभाषाको पहिलो र नेपालको तेस्रो दैनिक हो । नेपालको पहिलो दैनिक पत्रिका ‘आवाज’ हो । त्यसपछि ‘समाज’ दैनिक दोश्रो स्थानमा पर्दछ ।
चर्चा वा लोकप्रियताको कुरा गर्ने हो भने विश्वभूमि पनि उत्तिकै चर्चाको शिखरमा पुगेको पत्रिका हो । नेवाःहरुको बिचमा मात्र नभई, गैर नेवाःको बिचमा समेत लोकप्रिय विश्वभूमि दै्रनिक ०४६ सालको जन आन्दोलनको समयमा निकै पढिन्थ्यो
नेपालभाषा पत्रिका बजारमा आउँदा राज्यशक्तिमा रहेको खस नेपाली भाषाबाट दैनिक पत्रिका प्रकाशन भएको थिएन । आजभोलि प्रकाशनमा रहेको सरकारी दैनिक पत्रिका ‘गोरखापत्र’ दैनिक समेत २०१७ सालमा मात्र दैनिक प्रक्राशनमा आएको थियो । चन्द्र शम्सेर प्रधानमन्त्री हुँदा साप्ताहिक रुपमा प्रकाशन भएको गोरखापत्र हप्ताको दुइपल्ट हुँदै पछि मात्र दैनिक भएको हो ।
त्यस्तै, पासा पाक्षिकको नाम पनि यहाँ बिर्सनु हुँदैन । आशाराम शाक्यको सम्पादनमा च्वसापासाका प्रकाशनमा २००८ सालमा समाचारलाई प्राथमिकता दिइ ‘पासा’ पाक्षिक प्रकाशन भएको हो । पछि यहि पत्रिका दैनिक भइ केहि समय प्रकाशनमा आई बन्द भयो ।
साप्ताहिक पत्रिकाको कुरा गर्ने हो भने वि.सं. २०४१ सालमा प्रकाशनमा आएको ‘राजमति’ साप्ताहिक नेपालभाषाको पहिलो साप्ताहिक पत्रिका हो ।त्यसपछि धेरै साप्ताहिक पत्रिका निस्के भने समयसँगै बन्द पनि भए । एक समय निकै लोकप्रिय रहेको नेपालभाषाको साप्ताहिक पत्रिकाहरु इनाप वाःपौ, देशय्मरुझ्याः देखि पछिल्लो समयमा नेपाः सः साप्ताहिक, तिकिझ्याः साप्ताहिक अहिलेको समयमा निरन्तर हुन सकेन ।
इनाप पत्रिकाले नेवाः पत्रकारिता क्षेत्रमा धेरै पत्रकार जन्मायो । त्यस समयमा इनाप पत्रिकामा काम गर्ने धेरैे पत्रकारहरु आजसम्म पनि पत्रकारिता क्षेत्रमा सक्रिय नै छन् ।
दैनिकको कुरा गर्नेे हो भने २०४४सालमा ‘विश्वभूमि’ दैनिक प्रकाशित भयो । चर्चा वा लोकप्रियताको कुरा गर्ने हो भने विश्वभूमि पनि उत्तिकै चर्चाको शिखरमा पुगेको पत्रिका हो । नेवाःहरुको बिचमा मात्र नभई, गैर नेवाःको बिचमा समेत लोकप्रिय विश्वभूमि दै्रनिक ०४६ सालको जन आन्दोलनको समयमा निकै पढिन्थ्यो ।
तत्कालीन समयमा विश्वभूमि दैनिक नेपालभाषा नबुझ्नेहरुले समेत खोज खोजी पढ्ने गर्थे । यो पत्रिका ०४६ सालमा आन्दोलनको समयमा त दैनिक तिन पटकसम्म छाप्दै बजारमा लगेको इतिहास छ । यो पत्रिका पनि आजको दिनमा इतिहासको पानामा मात्र सीमित हुनुपुगेको छ ।
प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्र आएपनि संचार क्षेत्रमा अहिलेसम्म परिवर्तनको अनुभूति गर्न पाएको देखिँदैन । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले अहिलेसम्म मातृभाषा पत्रकारितालाई लिएर केहि नीति नियम वनाएको देखिँदैन ।
पत्रकार दबूबाट मनाइरहेको मातृभाषा पत्रकारिता दिवस भनेको मातृभाषी पत्रकारहरुको अवस्था र पीडालाई लिएर राज्यको ध्यानाकर्षण गर्नको निम्ति हो, समस्या समाधान गराउनको निम्ति, अवस्थालाई सुधार गराउन राज्यलाई झकझकाउनको निम्ति हो ।
Categorized in विचार