नेवाः विश्वविद्यालयको अभियान थाल्ने भाषा अभियानकर्मीहरुको भनाई
SamacharDesk – बिराज | २०७९ फाल्गुण १०, बुधबार

फेब्रुअरी २१ अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेपालभाषा क्लब टोखा नेवाः ग्वहालि पुचः टोखाले कार्यक्रमको आयोजना गर्दै मातृभाषाको महत्त्वको विषयमा चर्चा गरिएको छ ।
मंगलबार टोखास्थित गणेश पोखरी प्राङ्गणमा आयोजना गरिएको कोण सभाका वक्ताहरुले समुदायको पहिचान संरक्षण गर्नका लागि मातृभाषाको संरक्षण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमममा बोल्दै नेपालभाषा अभियन्ता साथै रत्नराज्य क्याम्पस सुकुन्दा साहित्य पाःलाःका अध्यक्ष प्रशान्त डंगोलले मातृभाषाको महत्त्व र आवस्यकताबारे प्रष्ट पार्दै सबैले आआफ्ना बालबच्चासँग मातृभाषामै कुराकानी गर्न आग्रह गरे ।
मातृभाषा संरक्षणका लागि मातृभाषा माध्यमबाट शिक्षा लिन पाउनुपर्ने अधिकार सुनिश्चित गर्नुपर्नेमा डंगोलले जोड दिए ।
‘लामो संघर्षपछि रत्नराज्य लक्ष्मी क्याम्पसमा २०७४ चैत्रबाट स्नातक तहमा नेपाल भाषा पुनः स्थापना गर्न सलफ भयौं । २०७६ सालदेखि स्नातकोत्तर तहमा नेपालभाषा विषय सुरुवात गर्ने अभियान संचालन गर्दै २०७८ कार्तिकमा काठमाडौं महानगरसँगको सहकार्यमा यो काममा पनि सफल भयौं । अबको अभियान भनेको नेवाः विश्वविद्यालयको स्थापना हो’ डंगोलले भने ।
त्यस्तै नेवाः ग्वहालि पुचःका अध्यक्ष श्रीकृष्ण मानन्धरले मातृभाषा अभियानको थालनीको इतिहासबारे प्रष्ट्याए ।
कोणसभा अघि, टोखा क्षेत्रमा नेपालभाषा अभियन्ता एवम् भाषाप्रेमीहरुले प्रभातफेरी निकालेका थिए । प्रभातफेरीमा ‘मातृभाषामा शिक्षाको अधिकार सुनिश्चित गर, भाषा बाँचे पहिचान बच्छ’ लगायतका नारा लगाइएको थियो ।
Categorized in समाज