arin enterprises

पश्चिमा मुलुक र युक्रेनले नै युद्ध सुरु गरेको आरोप राष्ट्रपति पुटिनको आरोप

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ फाल्गुण १०, बुधबार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुक र युक्रेनले नै युद्ध सुरु गरेको आरोप लगाएका छन् ।

मंगलबार युक्रेन युद्धको एक वर्ष पुगेको अवसरमा रुसी संघीय संसद्लाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले अमेरिकी राष्ट्रपति जो बाइडेनले छिमेकी देश युक्रेन भ्रमण गरेको केही घण्टामै यस्तो प्रतिक्रिया दिएका हुन् ।

त्यस्तै रुसी राष्ट्रपति पुटिनले रुसले युक्रेन द्वन्द्वलाई शान्तिपूर्ण रुपमा समाधान गर्न चाहेको पनि बताएका छन् ।

सम्बोधनका क्रममा उनले युक्रेनको डोनबास क्षेत्रको द्वन्द्वलाई शान्तिपूर्ण माध्यममार्फत् समाधान गर्न चाहेको र पछाडि अर्कै दृश्य मञ्चन भइरहेको बताए ।

पश्चिमाहरूले राजनीतिक हत्या र विश्वासघातको प्रयास गरेको पनि पुटिनले दाबी गरेका छन् । साथै पुटिनले युक्रेनले जैविक र आणविक हतियार जम्मा गरेको पनि आरोप लगाएका सम्बोधनका क्रममा भनेका छन् ।

युक्रेन–रुस युद्धको एक वर्ष पुगेको अवसरमा बाइडेन युक्रेन पुगेका थिए । बाइडेनको युक्रेन भ्रमणलाई ’अचानक’ भनिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

युक्रेन भ्रमणपछि उनी पोल्याण्ड भ्रमण गर्ने कार्यक्रम छ । पोल्याण्डको राजधानी वार्सा पुगेर उनले युक्रेन युद्धबारे सम्बोधन गर्ने बताइएको छ ।

अमेरिकाले पटकपटक युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आइरहेको छ ।

साथै युद्धका लागि रुस नै जिम्मेवार रहेको भन्दै अमेरिकाले अन्तर्राष्ट्रिय मञ्चहरूमा रुसलाई दबाब दिँदै आएको छ ।

Categorized in अन्तर्राष्ट्रिय