arin enterprises

तीन महिला पत्रकारलाई साधना पत्रकार सम्मान

SamacharDesk – बिराज | २०७९ फाल्गुण २४, बुधबार

नेवाः पत्रकार राष्ट्रिय दबूले तीन जना महिला पत्रकारलाई साधना महिला पत्रकारिता सम्मान प्रदान गरेको छ ।

११३औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा थाहा एफएमकी सञ्चुकुमारी लामा, नेपाल टेलिभिजनकी अञ्जना शिल्पकार र गोरखापत्रकी फोटो पत्रकार कविता थापालाई सम्मान प्रदान गरिएको हो ।

ललितपुरमा एक समारोहको आयोजना गर्दै पत्रकार राष्ट्रिय दबूले पत्रकारत्रयलाई सम्मान प्रदान गरेको हो ।

सम्मानको क्रममा सम्मानित पत्रकारहरुलाई ललितपुर महानगरपािलकाकी उपप्रमुख मञ्जरी (आस्था) शाक्यले सम्मान पत्र प्रदान गरिन् भने आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष गजुरधन राईले दोसल्ला ओढाए ।

त्यस्तै पत्रकार राष्ट्रिय दबूकी उपाध्यक्ष रचना श्रेष्ठले फुलमाला लगाईदिइन् ।

सो अवसरमा उपमेयर शाक्यले महिलामाथि हुने विभेद, सामाजिक रूपान्तरण र आदिवासी जनजातिको मुद्दा उठानका लागि पत्रकारहरूको महत्वपूर्ण भूमिका रहेको बताउँदै पत्रकारिता क्षेत्रमा आदिवासी जनजाति महिलाको उपस्थितिको लागि महानगरपालिकाले ठोस काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य एवं वरिष्ठ महिला साहित्यकार सुलोचना मानन्धर धितालले नेपालको पहिलो महिला पत्रकार साधना प्रधान अधिकारीको संघर्षपूर्ण जीवनगाथा, सामाजिक परिवर्तनप्रति अटुट प्रयासको विषयमा केन्द्रीत गर्दै आफ्नो भनाई राखिन् ।

फोनिजका अध्यक्ष राईले नेपाली सञ्चारमाध्यमलाई समावेशी बनाउन, मातृभाषाको पत्रकारिताको विकास गर्न राज्य र स्थानीय तहले ठोस काम गर्नुपर्ने बताए ।

क्रियाशील महिला पत्रकार मञ्चकी अध्यक्ष संगीता लामाले आदिवासी जनजाति महिलाहरूलाई ठूलठूला सञ्चारमाध्यममा काम गर्ने हैसियतमा पुर्‍याउन ज्ञान, सीप र तालिम दिने कार्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन् ।

त्यस्तै पत्रकार दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले आधा आकाश ढाकेका महिलाहरूको अधिकारप्रति उदासिनताले समाज परिवर्तन नहुने विचार व्यक्त गरे ।

सो अवसरमा पत्रकार राष्ट्रिय दबूकी उपाध्यक्ष रचना श्रेष्ठ, महासचिव के.के मानन्धर, सहसचिव सुनीता डंगोल र पुरस्कृत हुनेहरूको तर्फबाट सन्चु लामाले राज्यका हरेक निकायमा महिलाको समानुपातिक प्रतिनिधित्वको लागि पत्रकारिताको भूमिका प्रभावकारी हुनुपर्नेमा केन्द्रीत गर्दै आआफ्नो धारणा राखेका थिए ।

Categorized in समाज