arin enterprises

पत्रकार पवनलालको अन्त्येष्टि आज साँझ गरिने

SamacharDesk – बिराज | २०७९ फाल्गुण २५, बिहिबार

सडक दुर्घटनामा परी निधन भएका साँखुका पत्रकार पवनलाल श्रेष्ठको अन्त्येष्टि आज साँझ गरिने भएको छ ।

आज साँझ करीब ६ बजेतिर साँखुको सिपुलि दीपमा श्रेष्ठको अन्त्येष्टि गरिने साँखुका पत्रकार किचः सिंहले समाचारडेस्कलाई बताएका छन् ।

हाल उनको शव पोस्टमार्टमको लाग शिक्षण अस्पताल अत्तर खेलमा राखिएको छ । पोस्टमार्टम पछि आज साँझ करीब ५ बजे उनको शव परिवारलाई हस्तान्तरण गरिने बताइएको छ ।

हिजो साँझ करीब ७ बजेतिर मोटरसाइकलमा आइरहेका श्रेष्ठलाई साँखुको इन्द्रायणीमा ट्रीपरले ठक्कर दिएको थियो ।

श्रेष्ठ सवार बा ९४ प ४४९८ नम्बरको मोटरसाइकललाई बा ५ ख २४१४ नम्बरको ट्रीपरले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको थियो ।

सोही ट्रीपरले श्रेष्ठको मोटरसाइकलसँगै बा ८२ प ८३५७ नम्बरको मोटरसाइकललाई पनि ठक्कर दिएको थियो । उक्त मोटरसाइकलमा सवार शंखरापुर नगरपालिका ९ बस्ने २२ वर्षीय विशाल खड्काको पनि घटनास्थलमै मृत्यु भएको थियो ।

साँखु–जोरपाटी सडकखण्डमा साँखुबाट ब्रह्मखेल जाँदै गरेको ट्रीपरले विपरीत दिशाबाट आउँदै गरेको दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार श्रेष्ठ र खड्का दुवैजनाको मृत्यु भएको हो ।

दुर्घटनामा २० वर्षीया पुनम श्रेष्ठ घाइते भएको र उनको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

ट्रीपर चालकलाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ । दुर्घटनापछि फरार ट्रीपर चालकलाई प्रहरीले राति नै सिन्धुपाल्चोकबाट पक्राउ गरी काठमाडौँ ल्याएको बताएको छ ।

घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको बताइएको छ ।

दुर्घटना अघि श्रेष्ठ बनेपामा आफ्नो भान्जाको बिहेमा सरिक भएर घर फर्कँदै थिए । उनको मृत्यु हुनु केही समय अघि मात्रै श्रेष्ठले सोही विहेको समारोह फेसबुकमार्फत लाइभ गरीरहेका थिए ।

स्वर्गीय श्रेष्ठ साँखुबाट प्रकाशनमा रहेको लावण्य सन्देश साप्ताहिकका सम्पादक थिए । साँखुका निकै सक्रिय पत्रकारको रुपमा लिइने श्रेष्ठ प्रेस युनियन साँखु शाखाका संस्थापक अध्यक्षसमेत हुन् भने राससका पूर्व समाचारदाता पनि हुन् ।

५० वर्षीय स्वर्गीय श्रेष्ठको परिवारमा आमासँगै उनकी श्रीमति र एक छोरा एक छोरी छन् ।

 

*समाचारमा शिक्षण अस्पताल अत्तरखेल हुनुपर्नेमा र एक मृतकको नाम विशाल खड्का हुनुपर्नेमा अन्यथा भइरहेकोमा सच्याइएको छ । – सं.

Categorized in समाज