arin enterprises

नागरिक राष्ट्राध्यक्षको रुपमा उभिन नवनिर्वाचित राष्ट्रपतिलाई थापाको आग्रह

SamacharDesk – बिराज | २०७९ फाल्गुण २६, शुक्रबार

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपालका नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिँदै राजा जस्तो राष्ट्रपति नभई नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने इच्छा व्यक्त गरेका छन् ।

एक विज्ञप्ती जारी गर्दै महामन्त्री थापाले नवनिर्वाचित राष्ट्रपति पौडेललाई नेपालको राष्ट्रपति राजा वा राजसंस्थाको अधिकार प्रतिस्थापन गरेर बनेको संस्थाको निरन्तरता नभई संविधानको रक्षार्थ दृढ रहने एउटा नागरिक राष्ट्राध्यक्षको चाहना भएको बताएका छन् ।

५ बुँदे विज्ञप्तीमार्फत थापाले पौडेललाई विभिन्न सुझाव र अपेक्षाहरु राखेका छन् ।

सवारीको नाममा सडक खाली गराउँदै जनतालाई हिँडडुल गर्न नदिने प्रथाको अन्त्य गर्ने पौडेलको पूर्व प्रतिवद्धतालाई स्मरण गराउँदै सरल सादगी जीवन शैली अनुसरण गरी नागरिक राष्ट्राध्यक्षको रुपमा आफुलाई राख्ने अपेक्षा थापाले राखेका छन् ।

‘राष्ट्राध्यक्षको नाममा विगतमा जस्तो अनावश्यक तडक भडक गर्ने होइन, सरल र सादगी जीवन शैली, अनुसरण गरी नागरिक राष्ट्राध्यक्षको रुपमा आफुलाई राख्नुहुनेछ भन्ने अपेक्षा छ’ विज्ञप्तीमा लेखिएको छ, ‘ताकि आम नागरिकले राष्ट्रपति हिँडडुल गर्दा तथा अन्य व्यवहार गर्दा आम नागरिक जस्तै सामान्य भएको महशुस गर्न सकुन्, देख्न सकुन् ।’

विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७७ लगायतका विधि र प्रोटोकल परिमार्जनका लागि सरकारी निकायमा छलफल भइरहेको बताउँदै थापाले सरकारले प्रारम्भदेखि नै यसतर्फ ध्यान दिएर राष्ट्रपतिलाई राष्ट्राध्यक्षको रुपमा प्रस्तुत गर्न आग्रह गरेका छन् ।

साथै आफु कुनै पार्टीमा भएको भनेर सोचर व्यवहार नगर्न नवनिर्वाचित राष्ट्रपति पौडेललाई आग्रह गर्दै पार्टीले पनि आफ्नो सदस्य वा नेता भनेर सम्झी संस्थाको दुरुपयोग नगर्न सचेत गराएका छन् ।  

Categorized in राजनीति