भारतमा लालु यादवको आफन्तको घरमा छापा
SamacharDesk | २०७९ फाल्गुण २८, आइतबार

भारतको प्रवर्तन निर्देशनालय इडीले विहारका पूर्व मूख्मन्त्री लालुप्रसाद यादवका छोरा छोरी र आफन्तहरुका घर तथा ब्यापारिक प्रतिष्ठानहरुमा छापा मारेको छ ।
गत शुक्रबार र शनिबार गरी इडीले लालु यादवका छोरा एवं विहारका बर्तमान उपमुख्यमन्त्री तेजश्वी यादव तथा उनका तीन जना दिदिबैनी र केही आफन्तहरुको स्वामित्वमा भारतका विभिन्न शहरमा रहेका दुई दर्जन बढी घर तथा प्रतिष्ठानहरुमा छापा मारेको हो ।
लालु यादव भारतको केन्द्रीय रेलमन्त्री हुँदा “कामको बदला जमिन” कार्यक्रम अन्तर्गत भएको भ्रष्टाचारको सीबीआइ र इडीले खानतलासी गर्ने क्रममा छापा मारिएको हो ।
छापा मार्दा उनीहरुको नाममा विभिन्न स्थानमा घर, जग्गा, नगद र सुन चाँदी गरी अर्बाैंको सम्पति फेला परेको इडीका अधिकारीहरुले बताएका छन् ।
नयाँ दिल्लीको न्यु फ्रेण्ड्स् कोलोनीमा तेजश्वी यादवको नाममा चार वटा घर फेला परेका छन् । डेढ अर्ब भारु बढी मूल्य पर्ने ती घरहरुको खरिद मूल्य चाहीँ चार लाख मात्रै देखाइएको छानविनबाट खुलेको छ ।
तेजश्वी यादव बस्दै आएको दिल्लीको घरबाट एक करोड नगद र डेढ किलो सुन पनि बरामद गरिएको छ । इडीका अधिकारीहरुले अहिलेसम्म करीब ६ अर्ब भारु बराबरको अवैध सम्पति फेला परेको र त्यस मध्ये साढे तीन अर्ब जति अन्य ब्यक्तिहरुको नाममा रहेको बताएका छन् ।
रेल वेमा तल्लो तहको जागिर लगाईदिने प्रलोभनमा गरीबको जमिन हडपिएको समेत पत्ता लागेको छ । विहारमा मात्रै लालु यादवको नाममा एक लाख बर्ग फिट जमिन रहेको पाइएको छ ।
Categorized in अन्तर्राष्ट्रिय