‘बागमती प्रदेश कार्यालय काभ्रेमै राख्नुपर्छ’
SamacharDesk – बिराज | २०७९ फाल्गुण २८, आइतबार

बागमती प्रदेश सभासद् हरिप्रभा खड्गी श्रेष्ठले बागमती प्रदेश कार्यालय काभ्रेमै सार्नुपर्नेमा जोड दिएकी छन् ।
काठमाडौंमा शनिबार आयोजित काठमाडौं सुनचाँदी व्यवसायी संघको दोश्रो भवन उद्घाटन कार्यक्रममा बोल्दै सभासद् खड्गी श्रेष्ठले बागमती प्रदेश कार्यालयको लागि काभ्रे नै उपयुक्त स्थान भएकोमा जोड दिइन् ।
‘बागमती प्रदेशका १३ वटा जिल्लामध्ये ११ वटा जिल्लाको लागि काभ्रे पायक स्थान हो । अहिले मकवानपुरमा प्रदेश कार्यालय राखिँदा सबैलाई नै आउन जान अप्ठ्यारो परिरहेको छ’ सभासद् श्रेष्ठले भनिन् ।
अपायक ठाउँमा प्रदेश कार्यालय राखिँदा अनावश्यक रुपमा यातायात खर्च बढेको श्रेष्ठको भनाई हो ।
अझ पनि आफुहरु प्रदेश कार्यालय काभ्रेमै सार्नको लागि प्रयासरत रहेको पनि श्रेष्ठले बताइन् ।
सो अवसरमा अनावश्यक रुपमा गैर नेपाली संस्कृति समाजमा नभित्र्याउन पनि श्रेष्ठले आम नागरिकमा आग्रह गरिन् ।
पश्चिमा साथै भारतीय संस्कृति नेपाली समाजमा हावी भइरहँदा नेपाली मौलिक संस्कृतिको अस्तित्त्व संकटमा पर्दै गएकोमा श्रेष्ठले चिन्ता पोखिन् ।
Categorized in राजनीति