साँगाबाट हराएको शेष गणेशको मूर्ति न्यूयोर्कको निजी म्यूजिममा फेला
SamacharDesk | २०७९ फाल्गुण २९, सोमबार

साँगाबाट करिब ३५ वर्ष अगाडि नारायण मन्दिरबाट हराएको शेष गणेशको मूर्ति न्यूयोर्कस्थित एक निजी संग्रहकर्ताकोमा फेला परेको छ ।
हराएका वा चोरिएका सम्पदाको खोजबिन तथा घरफिर्तीमा संलग्न ‘लस्ट आर्टस् अफ नेपाल’ले दिएको सूचनामा साँगाको नारायण मन्दिरबाट चोरिएको शेष–गणेश (सर्पले घेरिएको) मूर्ति न्यूयोर्ककी आर्ट–डिलर लेइको कोयलको संग्रहमा रहेको जनाएको छ ।
उक्त मूर्ति करिब २ सय वर्ष पुरानो भएको जनाएको छ । लस्ट आर्टस् अफ नेपालले न्यूयोर्कमा मूर्ति फेला परेको सूचनासँगै पाएसँगै साँगावासीले आफ्नै टोलबाट अरु ५ वटा सम्पदा चोरी भइसकेको जानकारी दिएका छन् ।
साँगावासी एवं पुरातत्व बिभागका अवकाशप्राप्त अधिकृत बालकृष्ण श्रेष्ठका अनुसार, नारायण मन्दिरमा रहेका दुबै शेष–गणेश (रिद्धी–सिद्धी) मूर्ति चोरी भइसकेका छन् भने मन्दिर परिसरमै रहेको भैरव र भगवतीको पुरातात्विक काष्ठकला पनि हराइसकेको छ ।
उनका अनुसार गणेशपाटीसँगैको संकष्टा नारायणका मन्दिरबाट पन्ध्रौं शताब्दीमा निर्मित ‘नृत्यरत गणेश’ पनि हराएका छन् । साँगा क्षेत्रकै ५ भन्दा बढी पुरातात्विक सम्पदा चोरिएपछि ती सबै स्थानमा नक्कली मूर्ति वा प्रतिमा बनाएर पाठपुजा भैरहेको छ ।
पुरातत्वले यहाँका मठमन्दिर र सत्तलमा रहेका प्राचीन काष्ठकला, चित्र र शिलालेख चोरिएकोरहराएकोबारे अहिलेसम्म अभिलेख राख्न सकेको छैन ।
Categorized in समाज