arin enterprises

देशैभरका मानन्धरहरु भेला भए स्वयम्भूमा

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ फाल्गुण २९, सोमबार

मानन्धर समुदायको राष्ट्रिय संगठन केन्द्रीय मानन्धर संघले देशैभरका मानन्धरलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । संघको वार्षिक रुपमा आयोजना गर्दै आएको स्वयम्भू भ्वय् कार्यक्रमसँगै यो वर्ष संघको ७० औं स्थापना दिवस पनि मनाइएको छ ।

आइतबार सम्पन्न कार्यक्रममा पूर्वको दोलखादेखि पश्चिमको स्याङ्जासम्म बसोबास गर्दै आएका मानन्धर समुदायको सहभागीता रहेको थियो ।

कार्यक्रममा समुदायभित्रबाट राजनीतिक नेतृत्वमा पुगेका जनप्रतिनिधि, भिमरथारोहण सम्पन्न भएका जेष्ठ नागरिक, खेलकुद क्षेत्रमा उत्कृष्ट भएका खेलाडी, नवविवाहित दम्पती साथै विभिन्न संकायमा विद्यावारिधी गरेकाहरुलाई सम्मान गरिएको थियो ।

सोही क्रममा समाजसेवी रघुवर भक्त मानन्धरबाट स्थापित पुरस्कार संवैधानिक कानुनमा विद्यावारिधी सकाएका डा. सुरेन्द्र मानन्धर तथा डा. उज्ज्वल मानन्धरलाई हस्तान्तरण गरिएको छ । साथमा मानन्धरे संघको नाममा दुई लाख रुपैयाँ नगद समेत हस्तान्तरण गरे ।

सोही कार्यक्रममा मातृभाषा प्रवर्ध्दनार्थ स्थापित सलिंचा मचा नेवाः पुरस्कार मोडर्न नेवाः इङ्गलिस स्कूलमा अध्ययनरत रिभान र प्रनिता मानन्धरलाई प्रतिव्यक्ति दस–दस हजार नगदसहित हस्तान्तरण गरियो । त्यस्तै एमबीबीएस, एमडी, प्लस टु, एमए, कम्प्युटर साइन्स, बीई, बीबीए, एसईईमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो ।

यो वर्ष विपन्न अभिभावकको पहिचान गरी समुदायभित्रका ५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ । गुहेश्वरी राज मानन्धर र भिमदेव मथुरा कुमारीले रत्नचुडामणि शिक्षा कोषमार्फत रामेछापस्थित मानन्धर सेवा समाजलाई नगद हस्तान्तरण गरे ।

कार्यक्रममा वाग्मती प्रदेश सांसद माननीय बसन्त मानन्धर, दोलखा भिमेश्वर नगरपालिकाका मेयर इश्वर नारायण मानन्धर, स्याङ्जाको हरिनास गाउँपालिका, रामेछाप, काभ्रेपलाञ्चोक, दक्षिणकाली नगरपालिका, शंखरापुर नगरपालिका, भक्तपुर नगरपालिका, काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरू सहभागीता रहेको थियो ।

कार्यक्रममा विभिन्न व्यावसायिक र वित्तीय संस्थाहरुको प्रदर्शनी स्थल पनि राखिएको थियो भने सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटी गणबहाल उपशाखासँगको समन्वयमा रक्तदान कार्यक्रम पनि गरिएको थियो । जम्मा २६ जनाले आकस्मिक रक्तदान गरेका थिए । त्यस्तै दन्त शिविर पनि राखिएको थियो ।

 

Categorized in समाज