पत्रकार दबूले नेवाः पत्रकार अवार्ड दिने
SamacharDesk – बिराज | २०७९ फाल्गुण ३०, मंगलबार

नेवाः पत्रकार राष्ट्रिय दबूले नेवाः पत्रकार अवार्ड गर्ने भएको छ ।
नेवाः पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूको ११औं स्थापना दिवसमा आयोजित कार्यक्रममा दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले आफ्ना योजनाहरु सुनाउँदै पत्रकार अवार्डको घोषणा गरे ।
पत्रकारहरुको प्रोत्साहनका लागि अवार्ड कार्यक्रम गर्न लागेको बताउँदै अध्यक्ष श्रेष्ठले आगामी बैसाख महिनाभित्रै अवार्ड कार्यक्रम हुने बताए ।
‘इतिहासको अभिलेखीकरण, वरिष्ठ पत्रकारहरुको सम्मानदेखि नयाँहरुलाई प्रोत्साहनका लागि धेरै कामहरु हामीले गर्नुछ । यसै क्रममा योगदानको कदर र प्रोत्साहन स्वरुप हामीले अवार्ड कार्यक्रम गर्न लागेका हौं’ अध्यक्ष श्रेष्ठले भने ।
यसको साथमा नेवाः पत्रकारहरुको Who is Who डाइरेक्टरी प्रकाशन, सत्यनारायण बहादुर फुटसल, धर्मादित्य धर्माचार्यको जीवनी प्रकाशन, सार्क स्तरीय मातृभाषा पत्रकारिता सम्मेलनलगायतका विभिन्न कार्यक्रमहरुको योजना पनि श्रेष्ठले सुनाए ।
पाटनमा आयोजित कार्यक्रममा दबूका संस्थापक अध्यक्ष श्रीकृष्ण महर्जनलाई सम्मान गरिएको थियो ।
साथै दबूको केन्द्रीय सदस्य र केन्द्रीय सल्लाहकारमा मनोनित भएकाहरुलाई प्रमाण पत्र पनि प्रदान गरिएको थियो ।
केन्द्रीय सदस्यमा विकास माली, भाइकाजी महर्जन, राजेश वज्राचार्य, प्रेरणा शाक्य, कविता श्रेष्ठ र रवि महर्जनलाई मनोनित गरिएको थियो ।
सल्लाहकारमा वरिष्ठ पत्रकार पुष्करभक्त माथेमा, सुरेश मानन्धर, मोहन दुवाल, नरेशवीर शाक्य, ईश्वर जोशी, विजयरत्न तुलाधरलाई मनोनित गरिएको छ । त्यसैगरी कानुनी सल्लाहकारमा किरण शाक्य मनोनित भएका छन् ।
मनोनित केन्द्रीय सदस्यहरुलाई दबूको केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले शपथ ग्रहण गराए ।
नेपालको पहिलो मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्य र नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको तस्वीरमा माल्यार्पण गर्दै कार्यक्रमको सुरुवात गरिएको थियो ।
कार्यक्रममा दबूका वरिष्ठ उपाध्यक्ष सुनिल महर्जन, निर्वतमान अध्यक्ष सुरजवीर वज्राचार्य, सल्लाहकार विजयरत्न तुलाधर, संस्थापक अध्यक्ष श्रीकृष्ण महर्जन लगायतले संस्थाको साथै मातृभाषा पत्रकारिता क्षेत्रको अवस्था, चुनौती आदि बारे बोलेका थिए ।
Categorized in समाज