पूर्वप्रधानमन्त्री इमरान खान समर्थक र प्रहरी बीच झडप
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र १, बुधबार

पूर्व पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न आएका प्रहरी र उनका समर्थकबीच खान निवास अगाडि झडप भएको छ ।
पूर्वप्रधानमन्त्री खानले पनि गिरफ्तारी दिन अस्वीकार गरेसँगै प्रमुख शहर यहि विषयलाई लिएर प्रदर्शन भएका छन् ।
गए राति पनि पाकिस्तान तहरीक–ए– इन्साफ (पिटिआई)का कार्यकर्ता र सुरक्षाकर्मीबीच खानको जमान पार्कस्थित झडप भएको थियो ।
प्रहरी र अर्धसैनिक बलका जवानले अश्रुग्यास प्रहार गरेपछि खानका क्रुद्ध समर्थकहरूले ढुङ्गामुढाले प्रतिकार गरेका थिए । सुरक्षाकर्मीले पानीको फोहरा र अश्रुग्यास प्रहार मात्र नभई गोलीसमेत हान्न थालेको पिटिआईका एकजना कार्यकर्ताले बताएका छन् ।
गत वर्ष विश्वासको मत प्राप्त नभएपछि पदमुक्त भएका खानमाथि भ्रष्टाचारलगायत विभिन्न मुद्दा लगाइएको छ ।
साथै सार्वजनिक रूपमा सरकारका कटु आलोचना गर्दै आएका उनीमाथि प्रधानमन्त्री हुँदा प्राप्त उपहार बेचेको तथा प्राप्त आम्दानी सार्वजनिक नगरेको आरोप पनि लगाइएको छ ।
सोही विषयमा जानकारी दिन अदालतले खानलाई बोलाएको थियो । अदालतको आदेश पालना नगरेकाले उनलाई पक्राउ गर्न आफूहरू आएको इस्लामावाद प्रहरीका उपमहानिरीक्षक सैयद शहजाद नदीम बुखारी स्पष्ट गरेका छन् ।
दक्षिणी बन्दरगाह शहर कराँची र उत्तरपश्चिमको पेशावरमा पिटिआईका समर्थकहरूको एक समूहले पनि जुलुस निकाल्दै सडक अवरुद्ध पारेका छन् ।
कुनै समयका क्रिकेटस्टार खानलाई हिरासतमा राख्ने प्रयास यसअघि पनि भएको थियो । उनीमाथि ज्यान मार्ने उद्देश्यका साथ गोली प्रहारसमेत भएको थियो ।
प्रधानमन्त्री शेहबाज सरिफको आदेशमा आफ्नो हत्या प्रयास गरिएको आरोप खानले लगाउँदै आएका छन् ।
पिटिआईका एक वरिष्ठ अधिकारीका अनुसार इस्लामाबाद उच्च अदालतमा खानको गिरफ्तारी रोक्न रिट दायर गरिएको छ ।
रिटमाथि आजै सुनुवाई हुने अपेक्षा गरिएको छ । गिरफ्तारी रोक्न अदालतबाट आदेश भएमा स्थिति स्वतः साम्य हुनेछ ।
त्यस्तै पार्टीका पदाधिकारीहरूले लाहोरको अदालतमा पनि त्यस्तै रिट दायर गरेका छन् ।
Categorized in अन्तर्राष्ट्रिय