arin enterprises

युएईले नेपाललाई दियो ३११ रनको लक्ष्य

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र २, बिहिबार

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको अन्तिम खेलमा युएईले नेपाललाई ३ सय ११ रनको विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतीमा ३ सय १० रन बनाएको हो ।

युएईको लागि आशिफ खानले कीर्तिमानी १ सय एक रनको शतकीय पारी खेल्दै नटआउट रहे । ४२ बलमा ११ छक्का र चार चौकासहित शतक पूरा गरेको हो ।

त्यस्तै वृत्य अरविन्दले ९४ रन बनाए । उनले १ सय ३८ बलमा दुई छक्का र आठ चौका प्रहार गर्दै शतक पु¥याउन ६ रनले चुके ।

यसअघि कप्तान मोहम्मद वासिम अर्धसतक बनाएर आउट भए । ४९ बल खेलेका उनले दुई चौका र छ छक्का प्रहार गरि ६३ रन बनाए ।

रोहन मुस्तफाले २० रन बनाएर आउट भए । पूर्व कप्तान सिपी रिजवान सात रनमा आउट हुँदा ओपनर आर्यन लक्रा छ र आयन अफजाल खान तिन रनमा आउट भए ।

बलिंग तर्फ नेपालका लागि दीपेन्द्र सिंह ऐरीले दुई विकेट लिए । ललितनारायण राजबंशी, सोमपाल कामी र सन्दीप लामिछानेले १–१ विकेट हात पार्दा युएईले १ विकेट रन आउटमा गुमाएको थियो ।

यो ओडिआईमा नेपालविरुद्ध कुनै पनि विपक्षी टोलीले दिएको हालसम्मकै उच्च योगफल हो ।

यसअघि २०२२ मा पपुवा न्युगिनीले नेपालविरुद्ध यही मैदानमा ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९२ रन बनाएको थियो ।

Categorized in स्पाेर्ट्स