arin enterprises

मध्यपुरको पाटी विहारमा दिपंकर बुद्धमूर्ति स्थापना

SamacharDesk – समाचारः केके मानन्धर | २०७९ चैत्र ५, आइतबार

मध्यपुरको पाटी विहारमा सप्ताहव्यापी महापरित्राण कार्यक्रम जारी छ । भाजु राजमान र तेजमाया बाडेबाट ७ फुटे दिपंकर बुद्ध स्थापना गरेको उपलक्ष्यमा पाटी विहार सहयोग समितिको आयोजनामा गत फागुन ३० देखि महापरित्राण कार्यक्रम सुरु भएको हो ।

सप्ताहव्यापी कार्यक्रम आउँदा चैत ६ गतेसम्म हुने आयोजक संस्थाले जानकारी दिएको छ । कार्यक्रमको दौरान विभिन्न ठाउँबाट भजन मण्डली विहार आइ ज्ञानमाला भजनको प्रस्तुती गरिरहको पनि संस्थाले जनाएको छ ।

विहारमा स्थापना गरिएको दिपंकर बुद्ध काठमाडौंस्थित स्वयम्भू महाचैत्यको पश्चिम दिशामा अवस्थित सातौं शताब्दीमा निर्माण भएको दिपंकर बुद्धको प्रतिमूर्ति हो ।

पाटी विहार २०२३ सालसम्म फोहोर मैला फाल्ने ठाउँ र महिलाहरूको खुल्ला शौच गर्ने ठाउँ (मिसा मंला)को रूपमा थियो । तत्कालीन स्थानियबासी तथा श्रीगोपाल प्रजापतिको नेतृत्वमा भिछु प्रज्ञाको सल्लाह बमोजिम पाटी विहारको उत्खनन र संरक्षण गरिएको हो ।

चालिसको दसकदेखि समाजसेवी श्यामकृष्ण मानन्धर, धर्मसुन्दर बज्राचार्य, गणेशराम प्रजापति लगायतको पहलमा पाटी विहारमा आवश्यक संरचना निर्माण गरेर व्यवस्थित बनाइएको हो ।

बुद्धले आफ्ना अनुयायीलाई आशिर्वाद दिन र भयबाट रक्षा गर्न पाली भाषामा पाठ गर्नु भएको केही सुत्रहरुको पाठलाई परित्राण पाठ भनिन्छ । यो अभ्यास विशेष गरि पाली भाषा प्रयोग गर्ने थेरवादी बुद्धिष्ट मुलुकहरूमा बढी प्रचलन छ ।

मुलतः यो सुत्रहरु दुई हजार वर्ष पहिले ताडपत्रमा लेखिएका थिए । पछि परित्राण पाठ पुस्तकको रूपमा परिमार्जन गरिएको थियोे ।

Categorized in संस्कृति