नेवार समुदायहरु पाहाँचह्रे पर्व मनाउँदै
SamacharDesk – राम डंगोल | २०७९ चैत्र ६, सोमबार

नेवार समुदायको सबैभन्दा ठूलोचाडको रुपमा मनाउने पर्व हो पाहाँचह्रे ।
पाहाँचह्रे पर्व हरेक वर्ष पिशाच चर्तदर्शीको दिनदेखि तीन दिनसम्म मनाउने गरिन्छ । स्थानीय नेवार समुदायको यो दशैँपछिको ठूलो पर्व हो । नेवार भाषामा ‘पाहाँ’को अर्थ पाहुना हो भने ‘पासा’को अर्थ साथी हो ।
चह्रे चन्द्रमासको क्यालेन्डर अनुसार चौधौँ दिनलाई भनिन्छ। ‘पासा चह्रे’ समेत भनेर मनाइने यो पर्व यस वर्ष पनि काठमाडौंका नेवार समुदायले तीन दिनसम्म धुमधामका साथ मनाईंदैछ ।
‘पाहाँचह्रे’ को पर्वको पहिलो दिन बिहान विभिन्न शक्तिपीठहरुमा पूजा गरी बेलुकी भष्मासुरको डरले लुकेर बसेका महादेवको पूजा गरिन्छ। लुकु महाद्यः भन्दै महादेवको एउटा आकृतिलाई जमिनमुनि लुकाएर पूजा गर्ने परम्परा छ ।
लुकुमहाद्यःलाई विशेष गरेर लसुन, भटमास, माछा, छ्वयला, चिउरा राखेर समयबजी चढाउनुका साथै जाँड रक्सी पनि चढाउने गरिन्छ । साथै लुकुमाद्यःलाई सुनको फूल र चाँदीको फूल पनि चढाइन्छ ।
यसरी फूल चढाउँदा सुनको फूल भनेर तोरीको फूल र चाँदीको फूल भनेर मुलाको फूल चढाउने गरिन्छ । यसदिनदेखि विभिन्न शक्तिपीठहरुबाट विभिन्न देवदेवीहरु जगाउने गर्दछ । जसलाई स्थानीय भाषामा द्यः गमय् थनेगु भन्ने गर्दछ ।
पाहाँचह्रेका दिन काठमाडौंका टोल टोलमा रहेका गणेश, देवदेवीहरुलाई कुखुरा, हाँस, बोका बलि दिने गरिन्छ । यो दिन टोलटोलमा देउताका खट घुमाएर जात्रा गरिने भएकोले ज्यादै रमाइलो हुन्छ । पाहाँचः¥हेको भोलिपल्ट औंसीका दिन टोलटोलपिच्छे बालबालिकाहरूलाई ‘मरःजा’ खुवाउने परम्परा छ ।
‘मरःजा’ खुवाउँदा व्रतबन्ध नगरेका र बेलविवाह नगरेका सानासाना बालबालिकाहरूलाई खुवाउने गरिन्छ । सो दिन अजिमाको प्रसादको रूपमा दालभात तरकारी खुवाउने गरिन्छ । श्रद्धालु व्यक्तिहरूले यस अवसरमा कसैले चक्लेट, कसैले बिस्कुट र कसैले मिठाई पनि बालबालिकाहरूलाई वितरण गर्ने गर्छन् ।
यसरी विभिन्न परिकार वितरण गर्नेहरूको घुइँचो नै लागेको हुन्छ । अजिमाको प्रसाद ‘मरःजा’ खुवाएपछि बालबालिकाहरूलाई भुतप्रेतले छुँदैन र अनेकौं रोग लाग्नबाट बचाउँछ भन्ने नेवार समाजमा गहिरो विश्वास रहेको पाइन्छ ।
पाहाँचः¥हेको भोलिपल्ट दिउँसो घोडेजात्रा मनाउने भनेर टुँडिखेलमा घोडा कुदाउने गरिन्छ । उपत्यकाका प्रत्येक गाउँ, नगर र बस्तीको छुट्टाछुट्टै पहिचानमुखी पर्वहरू रहेका छन् । ती पहिचानमध्ये पाहाँचः¥हेलाई येँ नखः अर्थात काठमाडौं सहरको पर्व पनि भनिन्छ ।
घोडेजात्रा काठमाडौंको पर्व भनिए तापनि ललितपुरको भोलाख्यःमा रक्सी खुवाएर मात्तिएको एउटा मात्र घोडा कुडाएर घोडेजात्रा मनाउने परम्परा छ । त्यस्तै भक्तपुरमा पनि परालको घोडा बनाएर दौडाउने गरिन्छ ।
पाहाँचःहेको रातमा टेबहालको भद्रकाली, वटुटोलको भद्रकाली देवीको खट र कंकेश्वरी देवीको खट टुंडिखेलमा ल्याएर देउता जुधाइन्छ । देउता जुधाउने भनेर टेबहाल वटुका देवीहरूको खटमा चढेर बसेका मानिसहरूको हातमा रहेको बलिरहेको तिंप्वाः साटासाट गरेर तीनपटक खट घुमाएर फर्काउने गरिन्छ । शुद्ध रात्रिमा हुने यो देउता जुधाउने जात्रा एकदम रमाइलो र रोचक हुन्छ ।
पाहाँचःहेको तेस्रो दिन अर्थात प्रतिप्रदाका दिन असनमा देउता जुधाउने गरिन्छ । त्यो दिन पनि टेबहाल र वटुका भद्रकाली देवीका खटहरू असन दोबाटोमा दिउँसो ल्याइन्छ । अनि कंकेश्वरी अजिमाको खट जुधाउन असनमा ल्याइन्छ । टेबहाल र वटुका भद्रकाली अजिमाको खटका तर्फबाट बलिरहेको तिंप्वाः कंकेश्वरी देवीको खटसँग साटेर तीनपटक खट घुमाएर ठूलो जनमानसका साथ देउता जुधाउने जात्रा सम्पन्न गरिन्छ ।
यसरी देउता जुधाउने भनेर देवीदेवताहरुलाई मिलन गराउनेलाई नै देउता जुधाउने भन्ने गरेको पाइन्छ । यसरी देवीका दिदीबहिनीबिच भेटघाट गर्ने जात्रा भव्य रूपमा मनाउने गरिन्छ । यस अवसरमा असनवासीका घरका झ्याल झ्यालबाट जात्रालु भक्तजनहरूको स्वागतार्थ ल्वंचाःमरी फ्याँकेर हर्ष बढ़ाइ ज्ञापन गर्ने गर्दछन् ।
यो जात्रा हेर्ने धेरै मानिसको असनमा भीड नै लागेको हुन्छ । यसरी देवदेवीहरुको खटलाई पूरै नगर परिक्रममा गरिसकेपछि आँगन घर लगेर प्रतिष्ठान गरिन्छ र जात्रा समापन हुन्छ ।
Categorized in संस्कृति