arin enterprises

प्रहरी महानिरीक्षक सिंहलगायत वरिष्ठ प्रहरी अधिकृतहरुको बिदाइ

SamacharDesk – बिराज | २०७९ चैत्र ११, शनिबार

तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलगायत वरिष्ठ प्रहरी अधिकृतहरुको बिदाई गरिएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु र प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई बिदाइ गरिएको हो ।

सेवा निवृत्त हुन लागेका प्रहरी अधिकृतहरुलाई नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शुभकामनासहित बिदाइ गरे ।

बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नवनियुक्त प्रहरी महानिरीक्षक व्यावसायिक, कर्तव्यनिष्ठ र दूरदर्शी रहेको चर्चा गर्दै आफ्नो कार्यकालमा उनले संगठनलाई थप उचाई दिने विश्वास व्यक्त गरे ।

समारोहमा प्रहरी महानिरीक्षक सिंहले आफ्नो कार्यकालका उल्लेखनीय कामहरु र प्रहरी संगठनमा हाल सञ्चालनमा रहेका महत्वपूर्ण कामहरू समेटिएर तयार गरिएको कार्य सम्पादन प्रतिवेदन नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरलाई हस्तान्तरण गरे ।

सो अवसरमा नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सामूहिक नेतृत्वको अवधारणा अनुरूप एकढिक्का भई सबैले अपनत्व ग्रहण गर्नसक्ने संगठनको निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाए । 

समारोहमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुमलता सिंहलाई समेत बिदाइ गरिएको थियो ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहसँगै सेवा निवृत्त हुन लागेका प्रहरी वरिष्ठ अधिकृतहरुमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु सहकुल बहादुर थापा, उत्तम राज सुवेदी र दिवेश लोहनी रहेका छन् ।

त्यस्तै प्रहरी नायब महानिरीक्षकहरू नल प्रसाद उपाध्याय, मोहन कुमार आचार्य र मसाउद आलम खाँ तथा प्रहरी वरिष्ठ उपरीक्षकद्वय उमाशंकर पन्जियार र जनक राज पाण्डे पनि सेवा निवृत्त हुन लागेका छन् ।

Categorized in समाज