ज्वेल्स् सहकारीद्वारा स्वास्थ्य शिविरको आयोजना
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ चैत्र १३, सोमबार

ज्वेल्स् बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
लाईफ लाइन हेल्थ होम केयरको सहकार्य र काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा संस्थाले सोमबार ललितपुरको तःल्बहालमा स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
शिविरमा सहभागीहरुले दाँत, बाल रोग, आँखा, नाक, कान र घाँटी, हाडजोर्नी तथा नशा सम्बन्धी साथै स्त्री रोगको परीक्षण गराएका थिए । शिविरमा जनरल शल्यक्रियाको साथै भिडियो एक्सरे, इ.सि.जि समेत गराउने व्यवस्था गरिएको थियो ।
शिविरमा करिब ४ सय जनाले आफ्नो स्वास्थ्य परीक्षण गराएको सहकारीका कोषाध्यक्ष समेत रहेका कार्यक्रम संयोजक प्रज्ञारत्न शाक्यले जानकारी दिए ।
परीक्षण गराउनेमा ५० वर्ष नाघेका महिलाहरुको संख्या बढि रहेको आयोजक संस्थाले जनाएको छ ।
स्वास्थ्य परीक्षण गराउनेलाई थप उपचार गराउनुपरेमा काठमाडौं मेडिकल कलेजमा लाइफ लाइन हेल्थ होम केयरको माध्यमबाट ३० प्रतिशत छुट र शल्यक्रियामा ५० प्रति छुट गरिने पनि संस्थाले जानकारी दिएको छ ।
शिविरले मध्यम तथा निम्नमध्यम वर्गमा नियमित स्वास्थ्य परीक्षणको आवश्यकता बोध गराउनुका साथै स्वस्थ रहने बारे सजगता बढाएको समाजसेवी मोतिशान्ति शाक्यले बताए ।
Categorized in समाज