रामनवमी पर्व मनाईंदै
SamacharDesk – Ram Dangol | २०७९ चैत्र १६, बिहिबार

आज चैत्र शुक्ल नवमी । मर्यादा पुरुषोत्तम श्रीरामको जन्म दिनको रुपमा आज हिन्दूधर्मावलम्बीहरु हर्षाेल्लासपूर्वक रामनवमी पर्व मनाईंदैछ ।
त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा भगवान विष्णुको सातौँ अवतारको रुपमा जन्मेको धर्मग्रन्थहरुमा उल्लेख भएको पाइन्छ ।
असूर र अत्याचारी रावणमाथि विजय प्राप्त गरी असत्यमाथि सत्यको विजयको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ ।
आजको दिन देशभरी रामको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमहरुमा स्नान ध्यान गरी व्रत बसी रामगीता पाठ, अध्यात्म वाल्मीकि र तुलसीकृत रामायण वाचन गर्नुका साथै भगवान रामको पूजाआराधना गरी रातभरी भजनकीर्तन र जाग्राम बस्ने परम्परा रहिआएको छ ।
आफ्नो पिताको कठोर आज्ञाको सहजतापूर्वक पालन गरी मानव जातिलाई सत्यको मार्गमा हिँड्न प्रेरणा दिएकाले रामको सम्झनमा रामनवमी पर्व मनाइँदै आएको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।
त्यस्तै भाइ लक्ष्मण, भरत, शत्रुधन र धर्मपत्नी सीताप्रति प्रकट गरेको आदर्श तथा दुनियाँदारका लागि गरेको न्यायको संस्मरण गर्दै मर्यादा पुरुषोत्तमका रूपमा उनको आराधना गर्ने प्रचलन छ ।
आजका दिन व्रत बसी श्रीरामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने धार्मिक विश्वास रहेको छ ।
यसै अवसरमा काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिर, पशुपति आर्यघाटमा रहेको राममन्दिर, गोकर्णेश्वर नगरपालिका–९ स्थित आरुबारीमा रहेको राम मन्दिर, जैसिदेवलस्थित राम मन्दिर लगायत देशभरका विभिन्न स्थानमा रहेका राम मन्दिरमा ठूलो मेला लागेको छ ।
जैसिदेवलस्थित राममन्दिरमा भने श्रीरामको चरित्र चित्रण हुने खालका तस्विरहरु प्रदर्शनीमा राख्ने गरिन्छ । जसमा श्रीराम भगवानको वाल्यवस्थादेखि युवावस्था, माता सीतासँगको विवाह उत्सव, १४ वर्ष वनबास गएको, बनवासका क्रममा रावणले सीता हरण गरेको र लंकामा युद्ध गरी माता सीतालाई फर्काएको आदिसम्मका सम्पूर्ण रामायण ग्रन्थका तस्वीरहरु प्रदर्शन गर्ने गर्दछ ।
सो अवसरमा मन्दिरमा विहानैदेखि पूजाआजा गर्ने तथा तस्वीरहरु अवलोकन गर्नेहरुको भीड नै लाग्ने गर्दछ ।
Categorized in संस्कृति