arin enterprises

महामारीको अवस्थामा ककसले कसरी मनाए मातृऔंशी

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ बैशाख ११, बिहिबार

आज वैसाख कृष्ण औंशी, मातृ औंशी अर्थात आमाको मुख हेर्ने दिन । यो दिन हरेकको लागि विशेष दिन हो । 

आफुलाई जन्म दिने आमालाई आदर र सम्मान त हरेक दिन गर्नुपर्ने हो । आमाप्रति सम्मान प्रकट गर्दै आमाको मुख हेर्ने र आमाबाट आशिर्वाद थाप्ने दिन ।

विगतका वर्षहरुमा आजको दिनको रौनक बेग्लै हुन्थ्यो । बजारमा भीड पनि हेर्न लायककै हुन्थ्यो । 

तर कोरोना भाइरस संक्रमणको महामारीका कारण आजको दिन उजाड जस्तै बन्यो, चहलपहल रहने बजार सुनसानै रह्यो । मेला नै लाग्ने मातातीर्थ पनि शुन्य नै रह्यो । 

यस्तो विषम परिस्थितीका बीच यस किसिमको महत्वपूर्ण चाड पर्न आएको छ । 

 

दिपक बज्राचार्य, गायक

गायक दिपक बज्राचार्यले विगतका दिनहरुमा झैं परम्परागत रुपमा आमाको मुख हेरेको बताए । लकडाउनका कारण बजार सबै बन्द रहँदा केही उपहारहरु भने यसपाली दिन पाइएन रे ।

तर आमाको मुख हेर्ने दिन यसपालीकै झन विशेष भएको उनको भनाई छ । 

‘अरु बेला सधैं काममै व्यस्त हुने गर्थें तर आज दिनभरि आमासँगै बसेर आमालाई नै पुरा समय दिन पाउँदा यो वर्षको मातृ औंशी मेरो लागि झन विशेष भएको छ’ दिपकले आफ्नो अनुभव सुनाए ।

 

 

राजभाई सुवाल, वरिष्ठ फोटोग्राफर

वरिष्ठ फोटोग्राफर राजभाई सुवालले साधारण ढङ्गले मात्रै आमाको मुख हेरेको बताए । वर्तमान परिस्थितीमा निकै सजग छन् उनी । 

बाहिरबाट आएका कुनै पनि सामान तुरन्तै ज्येष्ठ नागरिकको सम्पर्कमा ल्याउन नहुने कुरामा सतर्क रहँदै यसपाली कुनै पनि उपहार वा फलफुल मिठाइ पनि नकिनेको उनले बताए । 

‘लुगाफाटा दिउँ भने पसल नै खुलेको छैन । झन त्यसमा बाहिरबाट ल्याइएको सामान एकैपटक आमाको हातमा दिने कुरा पनि भएन । घरमै भएका खानेकुराहरु दिइ साधारण तरीकाले आमाको मुख हेरें’ सुवालले भने ।

 

 

विजयरत्न तुलाधर, वरिष्ठ सिने पत्रकार

हुन त वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधरको घर असन हो तर गत २०७२ वैसाख १२ गतेको भूकम्पले उनको घर पुर्ण रुपमा क्षति भएपछि हाल उनी ललितपुरको सौगल टोलमा बस्दै आएका छन् । उनकी आमा भने नागार्जुन नगरपालिका राधाकृष्ण मन्दिरनेर बसिरहेकी छिन् ।

हुन त पत्रकार मान्छे, गए जान सकिन्थ्यो । किन जानुभएन भन्ने प्रश्नमा उनले भने, ‘वर्तमान अवस्था भनेको न त यताउति हिँड्डुल गर्ने समय हो न त बाहिरबाट सीधै ज्येष्ठ नागरिकलाई भेट्न जानहुने अवस्था हो । त्यसैले नजानु ठिक लाग्यो’ तुलाधरको भनाई थियो ।

अनलाईनबाटै आमासँग भलाकुसारी गर्दै उनले पनि आमाको मुख हेरेर आजको दिन मनाए । यसको साथै आमालाई सम्झिँदै एउटा कविता पनि कोर्न भ्याएछन् । र उक्त कविता उनले नेवाः अनलाईन न्यूजमा पोस्ट्याए ।

वरिष्ठ सिने पत्रकार तुलाधर नेवाः अनलाइ न्यूज डट कमका संरक्षक समेत हुन् ।

 

 

चिरन्जीवि देवकोटा, वरिष्ठ पत्रकार (हाल अस्ट्रेलिया)

हाल अस्ट्रेलियामा बस्दै आएका वरिष्ठ पत्रकार चिरंजीवि राज देवकोटाले भने यसपाली आफ्नो आमासँगै बसेर मातृ औंशी मनाउने अवसर पाए । 

पाँच वर्षभन्दा बढि भयो, चिरन्जीविले टेलिफोन, भिडियो च्याटको माध्यमबाट आमाको मुख हेर्ने गरिरहेका थिए । नातिनी हेर्न अस्ट्रेलिया पुगेकी आफ्नी आमासँग यसपाली मातृ औंशी मनाउन पाउँदा चिरन्जीवि निकै खुसी छन् । 

आफ्नी छोरीले पनि पहिलो पटक आमाको मुख हेरेको दिन भएर पनि आजको दिन चिरन्जीविको लागि झन विशेष बनिदियो ।

‘खासमा हामीले आफुसँगै हुँदा कुनै सम्बन्धको, कुनै व्यक्तिको या कुनै चिजको महत्व कम आँक्ने गर्दछौं । तर, जब त्यो सम्बन्ध, व्यक्ति वा चिज आफुसँग हुँदैन, टाढा हुन्छ त्यसको महत्व धेरै धेरै बढेर जान्छ । विदेशमा देशको माया कति, आमासँग नहुँदा आमाको आफन्तजनको माया कति । शायदै बयान गर्न सकिन्छ’ चिरन्जीविले भने ।

यसपाली आमासँग यो मातृ औंशी मनाउन पाउँदा आफु जन्मेको माटोसँगको मिलन पनि छिट्टै होस् भन्ने कामना समेत चिरन्जीविले गरेका छन् ।

 

 

अनुज थापा र दिपिका श्रेष्ठ, युवा पत्रकार (हाल अमेरीका)

हाल महामारीको केन्द्रविन्दु वनेको अमेरीकाकै केन्द्रविन्दु न्यूयोर्क शहरमा बसिरहेका पत्रकार अनुज थापाको लागि पनि आमाको मुख हेर्ने माध्यम अनलाईन नै बन्यो । 

अनुजको दिदीले आमा छोरालाई मेसेन्जरमा जोडिदिए । १५/२० मिनेट भलाकुसारी गरे । अहिले सबभन्दा बढि संक्रमण फैलिएको देशकै पनि ईपि सेन्टरमा छोरा बुहारी बसिरहेका छन् । आमालाई पीर नलाग्ने त कुरै भएन । आफुहरु घरभित्रै बसेर काम गरिरहेको र सुरक्षित रहेको कुरा बताएर अनुजले आमालाई आश्वस्त पारे ।

अनुजकी धर्मपत्नी दिपिका श्रेष्ठले पनि अमेरिकाबाटै सामाखुसीमा बसिरहेकी आमाको मुख हेरिन् । दिपिकाको लागि पनि यसपालि आमाको मुख हेर्नको लागि माध्यन अनलाईन नै बन्यो । अनलाइनमै आमाछोरीले भावना पोख्दै केही समय विताए ।

अमेरिकामा स्टे होम र नेपालमा लकडाउन, संसारैभरि महामारीको अवस्थामा अनुज र दिपिकाले यसपाली केही उपहार भने आमालाई पठाउन सकेनन् । 

 

समग्रमा – 

जति जे गरेनि, आमाको गुण त कसले तिर्न सक्छ र । अरु बेला पोख्न नसकेका भावना, सम्मान पोख्ने अवसर पनि हो आजको दिन ।

परम्परा वा सँस्कृतिलाई कडा नियमले रुढिवादी पनि बनाइनुहुन्न । झन आमाले आफ्ना सन्तानसँग केही माग्ने वा उपहारको आशा राख्ने पनि होइन, आमाले त बस्, दिन जानेकि छिन् ।

समय परिस्थिती अनुसार सबैले आजको दिनलाई आआफ्नो ढङ्गले मनाए । कुनै महङ्गो उपहार भन्दा आमाप्रतिको भावना, श्रद्धाले ठुलो महत्व राख्छ ।

जसरी मनाइए पनि, जुनै उपहार दिइए पनि आजको दिन हरेकको लागि विशेष हो, सन्तानको लागि पनि र आमाको लागि पनि ।

Categorized in संस्कृति