arin enterprises

रातो मच्छिन्द्रनाथको रथयात्राको तयारी तीब्र

SamacharDesk – बिराज | २०७९ चैत्र २२, बुधबार

स्थानीय जनसमुदायमा बुंगद्यः भनिने रातो मच्छिन्द्रनाथको रथयात्राको तयारी तीव्र भएको छ ।

यसै क्रममा वर्षा र सहकालका देवता मच्छिन्द्रनाथको महास्नान प्रत्येक वर्ष वैसाख कृष्ण प्रतिपदाका दिन गराउनुपर्ने परम्परा अनुसार आउँदो चैत्र २४ गते महास्नान गर्न लागिएको छ ।

चैत्र २४ गते शुक्रबारका दिन ललितपुरको लगनखेलस्थित मण्डपमा मच्छिन्द्रनाथको मूर्ति राखेर महास्नान गरिन्छ । ललितपुरको तःबहालमा राखिएको मच्छिन्द्रनाथ मूर्ति बोकेर ल्याई मच्छिन्द्रनाथको आमा यक्षणी मायादेवी मानिएको रुखको मुनि रहेको मण्डपमा राखेर महास्नान गरिन्छ ।

विभिन्न तीर्थबाट ल्याइएको जलले चार जना पानेजुहरुबाट मच्छिन्द्रनाथको महास्नान गराइन्छ । महास्नानको लागि गंगातीर्थ, विष्णुमति तीर्थ, मनोहरा तीर्थ, गोसाईँकुण्ड र टोखास्थित सपनतीर्थबाट जल ल्याउने गरिन्छ ।

रातो मच्छिन्द्रनाथको महास्नानको यो परम्परालाई स्थानीय भाषामा ‘बुंगद्यःया न्हवं’ भनिन्छ ।

महास्नानसँगै रथ बनाउन सुरु गरिने

यहि महास्नानसँगै नेपालकै सबैभन्दा लामो मानिएको रातो मच्छिन्द्रनाथको रथयात्राका कार्यक्रमहरु औपचारिक रुपमा सुरु हुन्छ ।

महास्नान पछि रातो मच्छिन्द्रनाथको मलामी समेत लग्ने गरिन्छ भने त्यसपछि मच्छिन्द्रनाथको पुनर्जन्म भएको मानेर जन्मदेखिका सबै संस्कार पूरा गरिन्छ । मूर्तिमा आवश्यक मर्मत कार्य समेत गर्दै मच्छिन्द्रनाथलाई नामकरणदेखि बालिकालाई गरिने इहि, बाःह्राः, बालकलाई गरिने छेवर, व्रतबन्ध, बरे छुइ लगायतका कर्महरु सम्पन्न गरिन्छ ।

साथै महास्नानकै रातमा रथ बनाउने बाराहीहरुका नाइकेले पुल्चोकमा रथ बनाउने ठाउँमा किल्ला ठोकेर रथ निर्माणको काम सुरु भएको संकेत दिन्छन् । चैत्र २५ गते शनिबारबाट भने पुल्चोकमा रथ निर्माण कार्यले तीव्रता लिनेछ ।

मच्छिन्द्रनाथको रथ बाराहीहरुले बनाउने गर्छन् भने गजुर राख्ने काम ञवाः भनिने डंगोलहरुले गर्ने गर्छन् ।

त्यसैगरी २०८० बैसाख ८ गते शुक्रबार रातो मच्छिन्द्रनाथलाई रथारोहण गराइनेछ भने त्यसको ठिक चौथो दिनमा बैसाख ११ गते सोमबारबाट यस वर्षको रथ यात्रा सुरु हुनेछ ।

रातो मच्छिन्द्रनाथको रथयात्रा विना कुनै विघ्नबाधा, सफलतापूर्वक सम्पन्न भए समयमा राम्रो वर्षा हुने, खेतमा लगाइएको बाली राम्ररी सप्रिने जनविश्वास रहेको छ ।

करुणामयसमेत भनिने रातो मच्छिन्द्रनाथलाई शैव धर्मावलम्बीहरु शिव, वैष्णवहरु विरंची नारायण, सुर्यका उपासकले आदित्य नारायण, नाथ सम्प्रदायीहरु मच्छिन्द्रनाथ र वौद्ध धर्मावलम्बीहरु लोकेश्वरमा लिने गर्छन् ।

Categorized in संस्कृति