आज वैशाख शुक्ल तृतीया, अक्षय तृतीया मनाईँदै
SamacharDesk – विकाश | २०७७ बैशाख १४, आइतबार

आज वैशाख शुक्ल तृतीया, आजको दिनलाई अक्षय तृतीयाको रुपमा मनाइने गरिन्छ ।
आजको दिनमा स्नान गरी जौको सातु र सख्खरको सर्वत दान गर्नुका साथै खाने पनि गरिन्छ ।
यो दिन गरेको स्नान र दानलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ ।
यस दिन गरेको स्नान, दान, ध्यान र जपलगायत पुण्य कर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ ।
वैशाख शुक्ल तृतीयाका दिन थोरै दान गरे पनि धेरै फल प्राप्त हुने र यो अक्षय अर्थात् कहिल्यै नाश नहुने भएकाले आजको दिनलाई अक्षय तृतीया भनिएको हो ।
जौको सातु र सख्खरको सर्वत खानाले शरीर स्वस्थ्य रहन मद्दत हुने बताइएको छ ।
उष्ण गर्मीको समयमा शीतलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र सख्खरको सर्वत खाने गरिन्छ ।
शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यसले सहयोग गर्ने जनाइएको छ ।
त्यसैले यो पर्व शरीर स्वास्थ्यमा ख्याल गर्ने पर्वको रुपमा समेत मान्ने गरिन्छ ।
विश्वभरी कोभिड १९ को संक्रमण फैलिरहँदा यसको असर नेपालमा पनि परेको छ । र संक्रमणको रोकथाम र नियन्त्रणका लागि देशैभरि लकडाउन जारी रहेको अवस्थामा भने यसवर्षको अक्षय तृतीया पनि प्रभावित भएको छ ।
आजकै दिनमा शिव–पार्वतीको विवाह भएको मानिन्छ । शिव पार्वतीको विवाह भएको दिन भएकैले आजको दिनमा विवाह गर्नको लागि लग्न साइत हेर्नु नपर्ने मान्यता छ ।
भगवान विष्णुको छैठौं अवतारको रुपमा मानिने भगवान परशुरामको जन्म पन आजकै दिनमा भएको विश्वास गरिन्छ ।
यो पर्वको सम्वन्ध महाभारतसँग पनि जोडिएको देखिन्छ ।
पाण्डवहरु १२ वर्ष वनवासमा रहँदा एक दिन दुर्वासा ऋषि उनीहरूको कुटीमा आए । द्रौपदीले दुर्वासालाई भक्तिपूर्वक सत्कार गर्दै जे छ त्यही खान दिइन् । खुसी भएर दुर्वासाले द्रौपदीलाई एउटा अक्षय भाँडो प्रदान गरे ।
त्यहि बेला दुर्वासाले द्रौपदीलाई अक्षय तृतीयाको महत्वको बारेमा समेत बताएर गए । यस दिन पृथ्वीमा जो कोहीले विष्णुलाई विधि विधानले पूजा गर्छ वा चना, सातु, मौसमी फल, कपडा र पानीले भरिएको घडा दान गर्छ उनको घरको भण्डार सधैं पूर्ण रहनेछ ।
त्यही कथाको आधारमा यो पर्वको महत्व बढ्न गएको हो ।
Categorized in संस्कृति