ताइवानलाई घेरा हाल्दै चीन
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र २७, सोमबार

ताइवानको आकाश र समुद्रमा सैन्य परेडलाई चीनले दोस्रो दिन पनि जारी राखेको छ ।
ताइवानका राष्ट्रपति इङ वेनको अमेरिका भ्रमणको विरोधमा रुष्ट बनेको चीनले तीन दिने सैन्य अभ्यासको क्रममा ताइवानलाई घेरा हालिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मंगलबारसम्म जारी रहने भनिएको जोइन्ट सोर्ड नामक सैन्य अभियानमा चीनको ७० वटा सैन्य विमानले ताइवानको टापु नजिकै घेरा हालिरहेको हो ।
यसअघि ताइवानको रक्षा मन्त्रालयले ४२ वटा चिनियाँ सैन्य विमान र आठ वटा युद्धपोतले चीन र ताइवान छुट्याउने काल्पनिक मध्यरेखा पार गरेको जनाएको थियो ।
चिनियाँ सेनाले ताइवान वरपर लामो दूरीका रकेट, मिसाइल, लडाकु विमान, बमवर्षक लगायतका अत्याधुनिक हतियारहरु तैनाथ गरेको छ ।
अहिले चलिरहेको सैन्य अभ्यासले ताइवान टापुलाई चीनले जुनसुकै बेला पनि कब्जा गर्न सक्ने सामथ्र्य देखाउन खोजेको चिनियाँ सरकारी सञ्चारमाध्यमले बताएका छन् ।
यसैबीच, अमेरिकाले भने चीनलाई संयमता अपनाउन अपिल गरेको छ । तर चीनले भने ताइवानका राष्ट्रपतिको अमेरिका भ्रमणको परिणाम राम्रो नहुने चेतावनी पनि दिएको छ ।
केही समय अघि भएको चिनियाँ जनकंग्रेसको बैठकमा राष्ट्रपति सि जिनपिङले ताइवानलाई चीनकै प्रान्तको रुपमा राख्न जुनसुकै बेला बल प्रयोग गर्न सक्ने बताएका छन् ।
चीनले ताइवानलाई आफ्नै क्षेत्र मान्दै आएपनि ताइवानले आफूलाई स्वतन्त्र देश दाबी गर्दै आएको छ ।
Categorized in अन्तर्राष्ट्रिय