लोक साहित्यको उत्थानमा ललितपुर महानगरपालिकाको साथ
SamacharDesk – विजयरत्न | २०७९ चैत्र ३०, बिहिबार

ललितपुर महानगरपालिकाकी उपप्रमुख मन्जरी शाक्यले नेपाली लोक साहित्यको उत्थानमा महानगरपालिकाले सहयोग गर्ने बताएकी छन् ।
वाङ्गमय शताब्दि पुरुष स्व. सत्यमोहन जोशीबाट स्थापित लोक साहित्य परिषदको ललितपुरमा आयोजित कार्यक्रममा महानगर उपप्रमुख शाक्यले यस्तो प्रतिवद्धता जनाएकी हुन् ।
‘नेपाली लोक परम्पराकै अध्ययन अनुसन्धानमा योगदान दिँदै अमर भएका संस्कृतिविद् सत्यमोहन जोशीको पाइलालाई अब हामीले पछ्याउनुपर्छ, लोक साहित्यको उत्थानमा हामी जुट्नुपर्छ । यसमा ललितपुर महानगरपालिकाको आवश्यक साथ र सहयोग रहनेछ’ उपप्रमुख शाक्यले भनिन् ।
कार्यक्रममा साहित्यकार शान्तराज शाक्यलाई ‘करुणाकर पुरस्कार’ प्रदान गरिएको थियो ।
लकडाउनको समयमा लोक कथा पढेर सामाजिक सन्जालमार्फत सबैको घरघरसम्म पुर्याउन दिएको योगदानको कदर स्वरुप शाक्यलाई पुरस्कृत गरिएको परिषद्का अध्यक्ष राजितबहादुर श्रेष्ठले बताए ।
लोक साहित्यविद् करुणाकर वैद्यको नामबाट स्थापित यो पुरस्कारको राशी ४० हजार रुपैयाँ रहेको छ ।
पुरस्कृत शाक्यले करुणाकर वैद्यको नामबाट स्थापित पुरस्कार शताब्दि पुरुष सत्यमोहन जोशीको घरमै लिन पाउँदा आफु निकै हर्षित भएको बताए ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रिय विभागका प्रमुख राजनलाल जोशी, ललितपुर महानगरपालिका १२ वडाका अध्यक्ष नारायण अवाले, पुरस्कारका दाता जयकर बैद्य, परिषदका संरक्षक अणुराज शाक्यलगायतले आआफ्नो विचार राखेका थिए ।
Categorized in पेजथ्री