arin enterprises

जापानी प्रधानमन्त्री किशिदामाथि बम प्रहार

SamacharDesk | २०८० बैशाख २, शनिबार

प्रधानमन्त्री फुमियो किशिदामाथि देशको पश्चिमी भाग वाकायामामा आक्रमणको प्रयास भएको छ ।

वाकायामा आयोजित एक चुनावी कार्यक्रममा मन्तव्य व्यक्त गर्न लागेका प्रधानमन्त्रीमाथि ‘स्मोक बम’ प्रहार भएको सरकारी समाचार समिति क्योदो तथा प्रसारण संस्था एनएचकेले जनाएका छन् ।

प्रधानमन्त्रीमाथि कुनै चोटपटक नलागेको तथा उहाँलाई सुरक्षितरूपमा सकुशल कार्यक्रमस्थलबाट निकालिएको छ । प्रतिनिधिसभाको उपनिर्वाचनको समर्थन गर्ने कार्यक्रममा मन्तव्य व्यक्त गर्न मञ्चमा पुग्न लागेका प्रधानमन्त्रीमाथि आक्रमण भएको हो ।

आक्रमणको आशङ्कामा प्रहरीले घटनास्थलबाट एक जनालाई नियन्त्रणमा लिएको छ । यद्यपि प्रहरीले यसलाई पुष्टि गरे पनि थप जानकारी दिएको छैन ।

प्रधानमन्त्री किशिदाको लिबरल डेमोक्रेटिक पार्टीका सदस्य हिरोशी मोरियामाले लोकतन्त्रको आधारस्तम्भ सुदृढ बनाउने चुनावी अभियानमा यस्ता घटना हुनु खेदजनक भएको बताउँदै त्यसलाई उनले अक्षम्य अपराध भनेका छन् ।

गत वर्ष पनि चुनावी अभियानका क्रममा पूर्व प्रधानमन्त्री शिन्जो आबेको गोली प्रहारबाट हत्या भएको थियो ।

जापानमा विरलै हुने यस्ता घटनामा वृद्धि भएसँगै राजनीतिक दलका नेताको सुरक्षा चिन्ता बढेको छ ।

Categorized in अन्तर्राष्ट्रिय