एफपीओको प्रिमियम कर स्थगित गर्न प्रमको निर्देशन
SamacharDesk | २०८० बैशाख ४, सोमबार

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले एफपीओ मार्फत विक्री भएको सेयर प्रिमियम रकममा कर लगाउने निर्णय तत्काल स्थगित गर्न र दीर्घकालिन समाधान खोज्न निर्देशन दिनुभएको छ ।
नेपाल उद्योग परिसंघ र नेपाल बैकर्स संघले संयक्त रुपमा एफपिओमार्फत विक्री भएको सेयर प्रिमियम रकममा कर लगाउने निर्णयले पारेको असरका विषयमा आज बालुवाटर पुगी परिसंघका पदाधिकारीहरुले ध्यानाकर्षण गराएको छ ।
ध्यानाकर्षणपश्चात प्रधानमन्त्री दाहालले यो निर्णय स्थगित गर्न सम्बन्धित निकायलाई तत्काल निर्देशन दिनुभएको छ । भेटमा प्रधानमन्त्री प्रचण्डले यो विषयको दीर्घकालिन समाधानका लागि प्रक्रिया अगाडि बढाउने समेत बताउनुभयो ।
पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएका केही कम्पनी तथा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो चुक्तापूँजी बृद्धि गर्न एफपीओमार्फत पुँजी बृद्धि गरेका थिए । त्यस समयमा यसरी बृद्धि गरिएको एफपीओमा कर लगाइएको थिएन ।
तर, महालेखापरीक्षकको कार्यालयले ५८औं वार्षिक प्रतिवेदनमार्फत विभिन्न पब्लिक लिमिटेड कम्पनीले पुँजी बृद्धि प्रयोजनका लागि जारी गरेको एफपीओमा कर लाग्ने ठहर गर्दै ती कम्पनीबाट कर असुल गर्नुपर्ने जनाएको थियो ।
एफपीओमार्फत विक्री भएको सेयर प्रिमियम रकममा कर लगाउने निर्णय कार्यान्वयनले नेपालमा निजी क्षेत्रद्धारा प्रवद्र्धित उद्योग तथा व्यवसाय लिमिटेड कम्पनीमा रुपान्तरण नहुने तथा हाल सञ्चालनमा रहेका कम्पनीहरुले आफ्नो आकार बढाइ अर्थतन्त्रमा थप योगदान दिन नसक्ने अवस्था सिर्जना हुन सक्ने तर्फ सचेत हुनुपर्नेमा परिसंघ जोड दिएको छ ।
साथै लगानीकर्ताहरुको मनोबल गिर्ने, पुँजी बजार तथा लगानीकर्तालाई धरासायी बनाउनेप्रति सजग हुनुपर्ने धारणा परिसंघको छ ।
Categorized in बिजनेस